२० वटा समस्याग्रस्त सहकारीको फाइल बुझ्यो संसदीय छानबिन समितिले

२० वटा समस्याग्रस्त सहकारीको फाइल बुझ्यो संसदीय छानबिन समितिले


काठमाण्डु – २० वटा समस्याग्रस्त सहकारीका प्रतिवेदन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले संसदीय छानबिन समितिलाई बुझाएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको मंगलबार दिउँसो बसेको बैठकमा २० समस्याग्रस्त सहकारीको फाइल समितिलाई हस्तान्तरण भएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

समितिले आज सहकारी मन्त्रालय, सहकारी बोर्ड लगायत सम्बन्धित सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । मंगलबारबाटै काम थालेको समितिले संसद् भवन बानेश्वरमा बसेको बैठकमा समस्याग्रस्त सहकारीको अवस्था, कानुनी समस्या र नियमनको व्यवस्था लगायत विषयमा सरोकारवाला सरकारी निकायसँग छलफल गरेको हो ।

बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा सहकारी विभागका तर्फबाट जानकारी लिइएको संयोजक थापाले बताए ।

बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको बताउँदै थापाले समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने पनि जानकारी सञ्चारकर्मीहरूलाई दिए ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गत जेठ १५ गते गठन भएको थियो । समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भनिएका सहकारीको बचत हिनामिनाबारे पनि छानबिन अघि बढाउने म्यान्डेट पाएको छ ।