बाढी पहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता दिने सर्वदलीय बैठकको निर्णय

बाढी पहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता दिने सर्वदलीय बैठकको निर्णय


काठमाण्डु – बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ ।

आइतबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर सरकारका गतिविधि अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रवक्ता गुरुङले आवागमन अवरुद्ध भएर बाटैमा फसेका यात्रुलाई यातायात व्यवसायी र प्रशासनको सहयोगमा गन्तव्यमा पुर्‍याउने, यातायात आवागमन सुचारु गर्ने, विद्युत् आपूर्ति, र टेलिफोन र खानेपानी सम्बन्धित मन्त्रालयले तत्काल सुचारु गर्न पहल गर्ने निर्णय भएको जानकारी दिए ।

विनाशकारी बाढीका कारण महामारी उत्पन्न हुनसक्ने भन्दै न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निरोधात्मक र आवश्यक जनशक्ति सहित औषधी उपचारको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै उद्योग मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा खाद्यान्न, तरकारी ग्यासलगायतका बस्नु सुपथ मूल्यमा उपलब्ध गराउने निर्णय गरेको छ । बाढी पहिरोका कारण कृषिमा पुगेको क्षति सम्बन्धित मन्त्रालयले संकलन र घरवास गुमाएकाहरूका लागि आवासको प्रबन्ध सहरी विकास मन्त्रालय गर्ने निर्णय पनि बैठकले गरेको छ ।