सुदूरपश्चिमबाट उदाएका रवि : अभावमा फक्रिएको फूल !

सुदूरपश्चिमबाट उदाएका रवि : अभावमा फक्रिएको फूल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिमको एउटा सामान्य र गरीब परिवारका रवि ओडले देशभरबाट समर्थन पाएपछि गायन क्षेत्रको चर्चित कार्यक्रम ‘नेपाल आइडल’ जितेका छन् । शुरूवाती चरणमा सुदूरपश्चिमबाट साथ पाएर फाइनलमा पुगेका रविले नेपाल आइडल जित्न देशभरबाट समर्थन पाए ।

टप चारमा पुगेका रवि, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछाडि पार्दै रविले आइडल जिते । रविले २२ लाख रुपैयाँ नगदसहित ओप्पोको फोन र होन्डा डब्लु आरबी कार प्राप्त गरेका छन् । गोल्डेन माइक विजेता बिक्रम बराल फर्स्ट रनर्स अप भए । उनले २० लाख नगद पाएका छन् । झापाका सुमित पाठकले सेकेन्ड रनर्स अप हुँदै १२ लाख रुपैयाँ पुरस्कार पाए । थर्ड रनर्स अप अस्मिता अधिकारीले होन्डाको स्कुटर पाइन् । उनी एक मात्र महिला फाइनलिस्ट हुन् ।
दोहोरी साँझबाट आइडलसम्म


कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वासिन्दा रवि दोस्रो नेपाल आइडलमा आउनुअघि दोहोरी साँझमा गाउने गर्थे । निरन्तर गायनमा आवद्ध रहेपनि उनले आफ्नो कला र क्षमता देखाउने फराकिलो फोरम पाएका थिएनन् । त्यो फराकिलो फोरम बन्यो – नेपाली आइडल । धनगढी अडिसनमा रविले ‘जाउँला रेलैमा’ गाएपछि उनी सुरक्षित हुँदै अगाडि बढ्दै गए । गायन कलाबाट दर्शकलाई लोभ्याउँदै गएका रविले आवश्यक मात्रामा दर्शकको समर्थन र भोट पनि पाउँदै गए । जसले उनलाई नेपाल आइडलको लामो यात्रा तय गर्न सफल बनायो ।

रविले नेपाल आइडलमा लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा गाएका छन् र उनी सबैमा अगाडि देखिएका छन् । उनी ‘पा¥यौ भुतुक्कै’ बोलको गीतबाट निर्णायक न्ह्यू बज्रचार्यको नजरमा परेका थिए । उनको स्वर पार्श्व गायनमा रुचाइन्छ । देउडा, ‘म मौनता’, ‘सम्बोधन तिमीले’, ‘मायाले बाध्यो लौ रेसम’, ‘फेवा तालमा साइँली’ लगायतका गीतलाई उनले आइडलको मञ्चमा उत्कृष्टताका साथ प्रस्तुत गरे ।

टायलको घरभित्र खारिएको आवाज


रविले नेपाल आइडलको मञ्च तताइरहँदा सामाजिक सञ्जाल रविको चर्चाले तातेको थियो । उनको आर्थिक अवस्था झल्किने गरी टायलको घर र म्यादी प्रहरी हुँदाको तस्वीर भाइरल भयो । गायन कलामा उत्कृष्ट भएपनि रवि ओडको आर्थिक अवस्था कमजोर थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका तस्वीरले दर्शकको समर्थन जुटाउन सहयोग पुग्यो । सँगसँगै सन्देश दियो – आर्थिक कमजोरीले मान्छेलाई अगाडि बढ्न रोक्न सक्दैन । कतिपयले आइडलमा जित्न भोटका लागि प्रतिस्पर्धीले नै आर्थिक लगानी गर्नुपर्ने तर्क गरिरहे ।

तर रविले व्यक्तिगत आर्थिक लगानी विना नै समर्थकको सहयोगबाट नेपाल आइडल जिते । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए । परिवार पाल्न र दैनिक खर्च जुटाउन उनले म्यादी प्रहरी बन्नुपरेको थियो । उनले निरन्तर संघर्ष गर्दै आफूलाई गायन यात्रामा चर्चित भए । गरीबी र अभावसँग जुध्दै रविले आफूलाई गायन क्षेत्रमा स्थापित गरे । बाल्यकालमै आमा गुमाएका रविका बुवा अहिले पनि मजदूरीका क्रममा भारतमा छन् । अभावमा पनि प्रयास गर्दा सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने बिम्ब बनेका छन् रवि ओड । उनको टायलको घरमा टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने सहजै बुझ्न सकिन्छ ।

विक्रम सम्वत् २०५४ चैतमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन् । रविका हजुरबुवा अछामको साँझेबगरबाट सरेर कञ्चनपुर आएपछि उनको परिवार कृष्णपुरमै बसिरहेको छ । हजुरबुवाको प्रेरणाले संगीतमा लागेको रवि बताउँछन् । विजेता घोषणा भएपछि रविले आइडलको मञ्चबाटै सबै नेपालीले जितेको बताए । उनको अभिव्यक्तिमा उनलाई सबैले साथ लिएको प्रष्ट बुझिन्थ्यो । सबैले साथ नदिएको भए पैसा पर्ने भोट नै निर्णायक हुने नेपाल आइडल जित्न आर्थिक अवस्था कमजोर भएका रविका लागि सम्भव थिएन । उत्कृष्ट कला भएका रविलाई जिताएर नेपाल आइडलको ओज बढाउन धेरै समर्थकले गच्छे अनुसारको लगानी गर्दै भोट गरेका छन् ।

सुदूरपश्चिममा खुशीयाली


सुदूरपश्चिमका रविले नेपाल आइडल जितेपछि सुदूरपश्चिममा खुशीयाली छाएको छ । देशभर समर्थक रहेपनि रवि जितेपछि औपचारिक रुपमै सडकमै खुशीयाली व्यक्त भइरहेको छ । देशभरका समर्थकले सामाजिक सञ्जालमा खुशी जनाइरहेका छन् । उनका समर्थकले धनगढीमा शुक्रबार राति नै दीपावलिसहित ¥याली निकालेका छन् । धनगढीको पार्कमोडमा जम्मा भएर समर्थकले खुशीयाली मनाए ।  रविको जितमा उत्साहित बनेका समर्थकले शनिबार धनगढीमा बृहत् विजय ¥याली निकाल्दैछन् । महेन्द्रनगरमा पनि रविले जितेपछि खुशीयाली मनाउन कार्यक्रम गर्ने तयारी भइरहेको छ । रविलाई गृह जिल्लामा भव्य स्वागत गर्ने तयारी समेत भइरहेको छ । रविलाई सुदूरपश्चिमबाट ठूलो समर्थन मिलेको थियो । रविलाई भोट दिनका सुदूरपश्चिमका विभिन्न ठाउँमा पर्चा, पम्प्लेट र होर्डिङ बोर्ड राखिएका थिए । सुदूरपश्चिमको आत्मीय समर्थन पाएर आइडलको यात्रामा उक्लिँदै गएका रविले देशभरबाट भोट पाएपछि दोस्रो नेपाल आइडल जितेका छन् ।