यशाेदा भुजेल
काठमाण्डु – डिजेइङ क्षेत्रको चर्चित नाम हो, ‘डिजे नानी’ अर्थात सुस्मिता महर्जन । डिजे नानीलाई नचिन्ने कमै होलान् । रातमा डीजे बाजामा आफूसँगै क्लव, पव र बारका ग्राहकलाई झुमाउने डिजे नानीको ख्याती दिन प्रतिदिन बढ्दो छ । सानै उमेरदेखि नै उनमा संगित प्रतिको मोह थियाे ।
सानैदेखि छर छिमेकमा भोज भतेर, व्रतबन्ध, जात्रा वा बिहेमा जाँदा होस् उनको कानमा गीत संगीत गुन्जिन्थ्यो, अरुले गीतहरु बजाएको देखेर हो उनको संगीतप्रति मोह बसेको ।
त्यसबेला देखि नै अरुले बजाएको बाजा भिन्नै प्रकारले बजाउने चेस्टा गर्थिन, डिजे नानी । टेलिभिजनमा अरुले ‘पर्फम’ गरेको देख्दा उनले आफु त्यो स्थानमा भएको सपना देख्ने गरेको सुनाईन ।
जब कक्षा ९ मा भर्ना भइन् त्यसपछि उनको मनमा डिजे बन्ने सपना साकार बनाउने हुट्हुटी चल्यो । जसरी पनि डिजे बन्ने उनको सपना त्यसै पुरा हुने थिएन । उनले डिजेकाे तालिम लिइन् । सुरुवातमा परिवारलाई सम्झाउन सास्ती खेप्नुपर्यो । कठोर मेहनतपछि परिवारबाट त युद्ध जितिन तर, समाज भने डिजे नानीको तगारो बन्न थाल्यो ।
उनि भन्छिन्, ‘रातको समयमा घरबाट बाहिर निस्किँदा छर–छिमेकमा कुरा काट्ने, नराम्रो भन्ने, क्लवमा केटाहरुले जिस्काउने जस्ता समस्याहरु भोग्नुपर्यो । हेर्नुहोस् घरबाट त युद्ध नै जिते सरी सबैलाई मनाएँ तर, काम गर्ने सवालमा समाज पो तगारो बन्नखोज्यो । एक किसिमले भन्ने हो भने मैले हरेस नै खाइसकेकी थिएँ । तर, पछि आफैंलाई लाग्यो हरेस खाएर कमजोर देखिनुभन्दा समाजसंग पनि लड्छु । म सहि छु र मेरो बाटो हिडछु भन्ने हिम्मत गरेर अगाडी बढे र आज यहाँ छु ।’
महिला भएकाले नै आफ्नो सपना साकार गर्न नपाउने ? उनको प्रश्न छ । सुरुवातमा घरमै पनि छोरी भएकाले सिमित घेरामा राख्न खोजिएको र आफुले त्यो जन्जिर तोड्न सफल भएको उनको अनुभव छ ।
उनले भनिन्, ‘सुरुमा त घर, परिवारबाट यो काम नगर भनेर धेरै दबाव आयो । मेरो ममिलाई छोरीले राति काम गरेको पटक्कै मन पर्दैनथ्यो । हाम्रो समाज अझै पनि गीत गाउने, नाच्नेलाई राम्रो नजरले हेरेको पाईंदैन, अझ म त घरबाट राति निस्किनुपर्ने,’ उनले भनिन्, ‘तर, बुबाले भने सधैं सपोर्ट गर्नुभयो । संगीत क्षेत्रमै भविष्य बनाउने मेरो सपनाको अगाडि परिवारको केहि सिप लागेन, अहिले परिवारबाट राम्रो साथ पाएकी छु । त्यसैले त आज म यो स्थानमा छु ।’
समाजमा महिलाले अवसर पाए पनि चारित्रिक आक्षेप लगाउने परम्परा अझै विद्यमान रहेको उनको भनाइ छ । ‘छोरी भएकै कारण समाजले एउटा घेरा बनाएर बाधेर राखेको छ । तैले यो गर त्यो नगर । यदि छोरी मान्छे अलि अगाडी बढ्यो भने चरित्रहत्या गर्ने सम्मको कुरा हुन्छ, जुन दुखद छ । समाजले छोरीलाई बाधेर राख्नुकाे साट्टो छोरालाई पनि संस्कार सिकाउनु पर्यो के त्यसपछि मात्र परिवर्तन होला,’ डिजे नानी सुनाउँछिन् ।
उनले आफु आफ्नो लक्षमा अडिक रहेको बताउँदै छोरी मान्छेको सपनालाई सकार बनाउन सबैले समर्थन गर्नुपर्ने उनको भनाई छ । संर्घषले खारिएकी डिजे नानी निकै लोकप्रिय छन् । मनोरन्जनका लागि नाइट क्बल, बार र पबमा पुग्ने महिलालाई नकारात्मक दृष्टिले हेर्ने समाजमा डिजे नानीले भने महिला ‘डिस्को जक्की’ को परिचय बनाएकी छन् । लगभग ५ वर्षको अथक मिहेनतपछि उनले आफुलाई एक सफल ‘फिमेल डिजे’को रुपमा आफुलाई स्थापित गर्न सफल भएकी हुन् ।
नेपाली, हिन्दी र अंग्रेजी गीतलाई मिसमास पारेर दर्शक नचाउन सक्ने उनी यसबाहेक अरु कुनै सपना देख्दिनन् । डिजेइङलाई एउटा आर्टको रुपमा अथ्र्याउँने उनी बदलिँदो परिवेशका कारण यसमा सम्भावना पनि उत्तिकै रहेको बताउँछिन् ।
उनी आफ्ना कारण कतिपय महिलामा आत्म विश्वाश जागेको बताउँछिन् । डिजे भनेको केटा मात्र हुन्छन भने गलत धारणालाई परिवर्तन गर्न आफू केहि हदसम्म सफल पनि भएको उनको भनाई छ ।
संघर्षको सुरुवाती दिनमा पारिश्रमिक चित्तबुझ्दो नपाएको विगत कोट्याउँदै उनी भन्छिन्, ‘अहिले त यसैबाट राम्रो पारिश्रमिक पाइरहेको छु ।’
डिजे नानीको लाइफस्टाइल
डिजे नानीको लाइफस्टाइल एकदमै फरक छ । उनको बेलुका सुत्ने र बिहान उठ्ने समयको टुंगो हुँदैन । धर्म कर्ममा एकदमै आस्था राख्ने उनलाई मन्दिर पुग्दा मनमा शान्ति र आनन्दको महशुस हुन्छ । उनलाई सपिङ गर्न एकदमै मन पर्छ । विशेषगरी बजारमा आएका नयाँ नयाँ लुगा, ब्याग, घडी, जुत्ता किन्न मन लाग्छ ।
ब्युटीपार्लर कमै जानेमा पर्छिन् डिजे नानी । फेसियल गर्न र हेभी मेकअप गर्न खासै धेरै मन पर्दैन उनलाई । बरू मेकअपका सामान किनेर आफै सिंगार्न मन लाग्छ । उनी ट्राभल गर्न एकदमै मन पराउँछिन् । नेपाल टुर गरिसकेकी उनले देशका प्रमुख शहरहरुमा आफ्नो प्रस्तुती समेत दिइसकेकी छन् ।
उनले नेपालबाहेक कोरिया, दुवई, इण्डिया जस्ता मुलुकमा रहेका नेपालीमाझ पनि डिजे बनेर प्रस्तुति दिइसकेकी छिन् । डिजे नानीलाई चलचित्र र म्यूजिक भिडियोका लागि अफर भने नआएको होइन् । तर, उनलाई त्यो पेशा मन पर्दैन । उनी डिजे पेशामा नभएको भए अहिले ब्यूटिसियन हुने बताउँछिन् ।
प्रतिक्रिया