विद्युत प्राधिकरणका सबै कार्यालय सेवाग्राही मैत्री बनाउन उर्जामन्त्रीको निर्देशन 

विद्युत प्राधिकरणका सबै कार्यालय सेवाग्राही मैत्री बनाउन उर्जामन्त्रीको निर्देशन 


सिमरा– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने वताउनुभएको छ । 

नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो । 

उहांले प्राधिकरणलाई आर्थीक,सेवा प्रवाह,उत्पादन र संचालनको हिसावले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्नेमा जोड दिनुभयो । 

आफुले उर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसंगै मन्त्रालयले प्रशारण लाइनको गुरु योजना सार्वजनिक गरेको भन्दै मन्त्री पुनले आगामी दिनमा प्रशारण लाइन व्यक्तिको प्रभावको आधारमा भन्दा प्राथमिकताको आधारमा निर्माण हुने दाबी गर्नुभयो । 

उहाले विद्युत प्राधिकरणका सवै कार्यालयमा सेवाग्राही मैत्री वातावरण बनाउन समेत निर्देशन दिनुभयो ।

  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले देशमा ५ वर्षमा चाहिएजति विजुली दिन सरकार सक्षम रहेको भन्दै आगामी तीन वर्षभित्र देशका सवै भुभागमा विद्युत सेवा पुर्याउने सरकारको लक्ष्यलाई ध्यान दिन समेत आग्रह गर्नुभयो । 

मन्त्री पुनले विद्युत प्राधिकरणको बोर्ड वैठकले प्राधिकरणलाई संघिय संरचनामा लान कार्यदल बनाइसकेको जानकारी समेत उक्त अवसरमा दिनुभयो । 

उहाले प्राधिकरणमा कसैको मुख हेरेर काम गर्ने भन्दा पनि कार्यसम्पादन हेर्ने र परिणामलाई आधार बनाएर मुल्यांकन गर्ने अवस्था आउनुपर्नेमा जोड दिनुभयो । 

‘अव तपाईहरुले कार्यसम्पँदन राम्रो गर्नुपर्यो,नेतृत्वले स्वविवकीय पक्षलाई भन्दा प्रणाली बसाल्नेतर्फ ध्यान पुर्याउछ यसले विद्युत प्राधिकरणको स्वास्थ्य र प्रगतीमा समेत सहयोग पुर्याउछ ।’ मन्त्री पुनले भन्नुभयो । 

उहाले सरुवा र बढुवाका लागी मन्त्री र कार्यकारी निर्देशक कहां जानु पर्ने अवस्थाको अन्त्य गर्ने दाबी समेत गर्नुभयो ।  

मन्त्री पुनले सरकार ऐजेण्डा आर्थिक विकास र समृद्धिको रहेको भन्दै आगामी १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो । 

उहाले त्यसका लागी प्रशारण र वितरणमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । मन्त्री पुनले ट्रान्सफर्मर नपाएको,मिटर समयमा नपाइएको लगायतका गुनासाहरु बढी आउने गरेको भन्दै सेवाग्रहीको समस्यालाई ध्यानमा राखेर काम गर्न समेत निर्देशन दिनुभयो । 

कार्यक्रममा उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव डा.सजय शर्माले वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।  सचिव शर्माले चुहावट नियन्त्रण भए प्राधिकरणको आर्थीक हित हुने धारणा राख्नुभयो ।