मन्त्रीले पाएनन् अमेरिका जाने भिसा

मन्त्रीले पाएनन् अमेरिका जाने भिसा


कोलम्बो– श्रीलंकाका पूर्वसैनिक प्रमुख एवं हालका क्षेत्रीय विकाससम्बन्धी मन्त्री शरथ फोन्सेकाले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने प्रवेशाज्ञा (भिसा) पाएनन्।

 

उनी संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि अमेरिका जान लागेका थिए। श्रीलंकाली प्रतिनिधिमण्डलमा फोन्सेका पनि एकजना सदस्य रहेका थिए। प्रतिनिधिमण्डलका सबैजना सदस्यले भिसा पाए भने उनलाई भिसा दिइएन्।

 

मन्त्री फोन्सेकाले आफूलाई भिसा नदिएको मंगलबार जानकारी दिएका छन्। उनी सन् २००९ मा श्रीलंकाली विद्रोही समूह, तमिल टाइगरविरुद्धको कारबाहीका समयमा सैनिक प्रमुख थिए।

 

उनीमाथि तमिलहरूका विरुद्धमा युद्धअपराध गरेको अभियोग लागेको छ। त्यसै अभियोगको कारण देखाउँदै उनलाई अमेरिका जान भिसा प्राप्त नभएको हो। उनले संवाददाताहरूसँग भने, ‘म पनि श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रतिनिधिमण्डलमा राष्ट्रसंघीय महासभामा जाने सदस्य थिएँ तर मैले भिसा पाइनँ।’

 

 

आफूलाई त्यसै कारणले नै भिसा नदिइएको भए त्यसको बारेमा अनुसन्धान हुनुपर्ने उनले माग गरेका छन्। आफूमाथि अन्याय भएको भन्दै उनले आक्रोश व्यक्त गरे। राष्ट्रपति सिरिसेनाको नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार नै अमेरिका प्रस्थान गरिसकेको छ। सन् २००९ मा श्रीलंकाली सरकारले तमिलका विरुद्धमा आक्रामक कारबाही गरेको थियो।

 

त्यसै कारबाहीपछि लामो समयसम्म अस्थिर देखिएको श्रीलंकाको विद्रोह अन्त्य भएको थियो। त्यस समयमा त्यस जातीय विद्रोही समूहका ४० हजार विद्रोही मारिएका थिए। उक्त समयमा सैनिक प्रमुखका रूपमा रहेको नाताले उनीमाथि पनि यस्तो अपराधको आरोप लागेको छ। फोन्सेकाले भने यो आरोपको खण्डन गर्दै आएका छन्।

 

 

त्यस बेला आफूले ती विद्रोहीको सफाया गरेको नभइ सरकारको आदेशको मात्र पालना गरेको अडान उनको छ।

 

रासस-एएफपी