एजेन्सी – दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन् । उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् ।
दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरेका छन् ।
कोरियाली संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ । उक्त चर्चमा एक जना कोरोना संक्रमित व्यक्ति पनि सहभागी भएका थिए । केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना संक्रमण देखिएको थियो ।
बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु संक्रमित भएको जनाएको थियो । तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए वा अस्पतालमा ती महिलाबाट अरुमा संक्रमण भएको थियो ।
दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना जीवाणुको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए ।
कोरोना जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।
प्रतिक्रिया