एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको भ्रमणमा रहेका छन् । भारतमा उनको भव्य स्वागतकाबीच चीनको नजर पनि ट्रम्प र मोदीको मित्रतातर्फ सोझिएको छ । दुई देशबीच मजबुत हुँदै गएको सम्बन्धलाई चीनलाई रोक्ने कोशिश भएको र यसलाई बेवास्ता गर्न नसकिने ग्लोबल टाइम्सले लेखेको छ ।
ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा भनिएको छ, ‘डोनाल्ड ट्रम्प भारतको भ्रमण गर्ने सातौं र लगातार चौथों अमेरिकी राष्ट्रपति हुन् । यो भ्रमणले अमेरिकाको तर्फबाट नयाँ दिल्लीलाई दिइने भू–राजनीतिक महत्व दर्साएको छ । अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो लक्ष्य हासिल गर्नका लागि चीनका छिमेकीलाई फकाउने प्रयास गरिरहेको छ ।’
लेखमा भनिएको छ,‘केही चिनियाँ अमेरिकाको हिन्द–प्रशान्त रणनीतिलाई बेवास्ता गर्दै आएका छन् । तर, अमेरिकाले चीनलाई रोक्नका लागि कुनै प्रयास छोडेको छैन । यसैले बेइजिङले यसमाथि ध्यान दिनु आवश्यक देखिएको छ ।’
अमेरिका चीनलाई प्रतिद्वन्द्वी शक्ति मान्छ र यो निकट भविष्यमै फेरिने अवस्थाम रहेको छैन् । यसैले हालैका वर्षहरुमा अमेरिकाको कैयौं कदम यही उद्देश्यमा आधारित रहेको छ । भारत तथा यो क्षेत्रमा चीनको प्रभावलाई सन्तुलित गर्नका लागि अमेरिका नयाँ दिल्लीसँग सहयोग बढाउने प्रयासमा जुटेको ग्लोबल टाइम्सले जनाएको छ ।
चीनले भारतको गुटनिरपेक्ष नीतिको ठोकुवा गर्दै भनेको छ,‘भारत–चीनको सम्बन्धमा केही मतभेद रहेको छ र कैयौं भारतीय चीनको विषयलाई लिएर सजग देखिन्छन् । यसैले विद्यमान परिदृश्यमा यदि चीन–भारत सम्बन्धलाई अगाडि नबढाउने हो भने अमेरिकालाई भारतलाई अधिक प्रभावित गर्ने मौका मिल्नेछ ।’
भारत र अमेरिकाबीचको रक्षा खरिदमा वृद्धि भइरहेको छ । २००८ सम्म दुई देशबीचको रक्षा खरिद शून्य रहेकोमा २०१९ मा आएर १५ अर्ब डलर पुगिसकेको छ ।
केही विश्लेषकहरुले ट्रम्पको भारत भ्रमणको लक्ष्य केवल हतियार बिक्री गर्नु रहेको मान्दै आएको ग्लोबल टाइम्सले लेखेको छ । तर अमेरिका केवल पैसा मात्रै चाँहदैन ।
ट्रम्प रियल इस्टेट कारोबारी भएकाले उनी सानोतिनो लोभमा मात्रै पर्दैनन् । उनले विश्वव्यापी सम्बन्धलाई नयाँ आयाम दिने विषयमा जोड दिइरहेका छन् । जुन अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको हिस्सा भएको ग्लोबल टाइम्सको ठम्याई छ ।
अमेरिकाले भारतलाई कहिले पनि प्रतिद्वन्द्वीको रुपमा नलिएको ग्लोबल टाइम्सले लेखेको छ । अमेरिका भारतलाई एसियामा सन्तुलन हतियारको रुपमा हेर्न चाहन्छ । नयाँ दिल्लीसँग अमेरिकाको वास्तविक हितलाई रोक्नु हो ।
त्यसैले चीन र भारतसँग शुल्क युद्धका बावजुद ट्रम्पले २०१९ को सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा भव्य स्वागत गरेको थियो । अन्तर्राष्ट्रिय स्थिति फेरिएको छ । त्यसैले चीनले यसलाई हलुका रुपमा नलिएको ग्लोबल टाइम्सले लेखेको छ ।
प्रतिक्रिया