एजेन्सी – भारत विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भएको छ । २.९४ ट्रिलियन डलरका साथ भारतले २०१९ मा बेलायत र फ्रान्सलाई पछि पारेको हो । नरेन्द्र मोदीले आगामी पाँच वर्ष भित्र भारतलाई ५ ट्रिलियन डलरको अर्थतन्त्र बनाउन लक्ष्य राखेका छन् ।
अमेरिकी अनुसन्धानमुलक संस्था वल्र्ड पपुलेशन रिभ्यूले आफ्नो रिपोर्टमा भनेको छ, “आत्मनिर्भर बन्ने पहिलेको नीतिबाट भारत अब अगाडि बढ्दै खुला बजार भएको अर्थव्यवस्थाको रुपमा विकसित भइरहेको छ ।”
पीटीआईका अनुसार बेलायतको अर्थतन्त्रको आकार २.८३ ट्रिलियन डलर रहेको छ भने फ्रान्सको २.७ ट्रिलियन डलरको रहेको छ । क्रय शक्ति समता (पीपीपी) का आधभारमा भारतको जीडीपी १०.५१ ट्रिलियन डलरको रहेको छ । यो जापान र जर्मनीको भन्दा पनि बढी हो । तर अधिक जनसंख्याका कारण प्रति व्यक्ति जीडीपी आय केबल २१७० डलर मात्रै रहेको छ । अमेरिकाको प्रति व्यक्ति आय ६२७९४ डलर रहेको छ ।
यद्यपि भारतको वास्तविक जीडीपी वृद्धि दर लगातार तेस्रो त्रैमासमा पनि कमजोर हुने देखिएको छ । यो ५ प्रतिशतको आसपासमा रहने छ ।
यसमा कंग्रेसको समयमा गरिएको उदारीकरणको प्रशंशा गरिएको छ । भारतमा १९९० को दसकमा आर्थिक उदारीकरणको सुरुवात गरिएको थियो । उद्योगलाई नियन्त्रणमुक्त गरिएको र विदेशी व्यापार एवं लगानीमाथिको नियन्त्रणलाई कम गरिएको थियो ।
साथै सरकारी कम्पनीहरुलाई पनि निजीकरण गरिएको थियो । यी कारणले गर्दा भारतको आर्थिक वृद्धि तीव्र दरमा भएको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट सार्वजनिक गर्ने अमेरिकी संस्था स्वतन्त्र संगठन हो ।
प्रतिक्रिया