सिंहदरबारका अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’

सिंहदरबारका अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’


काठमाडौं  – सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ। सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए। कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए।

चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन्। उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरीले बताए।

सरकारले स्वास्थ्य उपचारको बहानामा कर्मचारी काम छाडेर बाहिर जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयको समन्वयमा तीन साताअघि सिंहदरबारभित्रै हेल्थ डेस्क स्थापना गरेको थियो। बिहान ८ बजे खाना खाने, दिउँसो ३ बजे १ गिलास पानी पिउने, अपराह्न ४ः३० मा खाजा खाने, साँझ ७ बजे दुई गिलास पानी खाने र राति ८ः३० देखि ९ बजेभित्र खाना खाने गरेको तालिका अधिकांश कर्मचारीले बताएका थिए।

वीर अस्पतालका निर्देशक प्रा.डा.भूपेन्द्र बस्नेतले सिंहदरबारका कर्मचारीको खानपान र जीवनशैली सही नभएका कारण रोगी भएको बताए।

सिंहदरबारभित्रै औषधि अभाव

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै अत्यावश्यक औषधिको अभाव देखिएको छ। भएका औषधिहरू पनि कम गुणस्तरको हुँदा प्रयोगविहीनजस्तो देखिएको छ।सेवा सुरु गर्दा स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाले दिएको औषधि सकिएको छ। तर, कर्मचारीका लागि आवश्यक औषधि अब कोसँग माग्ने भन्ने अन्योल देखिएको छ।

मुडभरीका अनुसार निःशुल्क औषधि भने उपलब्ध छ। अहिले दैनिक ५० जना बिरामी स्वास्थ्य उपचारका लागि हेल्थ डेस्क जाने गरेका छन्। हेल्थ डेस्क सञ्चालनमा आएको २१ दिनमै अत्यावश्यक औषधि अभाव भएको हो। ग्यास्ट्रिकको औषधि, भिटामिन, एन्टिबायोटिकलगायत सकिएको छ।

रक्तचापबारे जान्नैपर्ने कुरा

चिकित्सकहरूका अनुसार ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको लक्षण नदेखिन सक्छ। सामान्यतया वयस्कको रक्तचाप १२०र८० एमएमएचजीभन्दा कम हुनुपर्छ। १२०—१३९ र ८०—८९ एमएमएचजीलाई उच्च रक्तचापउन्मुख अवस्था मानिन्छ। १४०—१५९र९०—९९ एमएमएचजीलाई उच्च रक्तचाप भनिन्छ।

१६०र१०० एमएमएचजी वा सोभन्दा बढीलाई जोखिमपूर्ण उच्च रक्तचाप मानिन्छ।उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गौला बिग्रिने प्रमुख कारण हो।

२१ दिनमा १६ जना इमर्जेन्सी भर्ना

सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको छ। महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताए।

१६ कर्मचारीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनीहरूमा उच्च रक्तचाप र ग्यास्ट्रिक देखिएको हो। चिकित्सकका अनुसार हेल्थ डेस्कमा सेवा लिन आउने कर्मचारी ५० वर्षमाथिका बढी छन्।