दिल्ली हिंसा :ज्यान गुमाएका प्रहरी हवल्दारलाई सहिद घोषणा गर्न माग

दिल्ली हिंसा :ज्यान गुमाएका प्रहरी हवल्दारलाई सहिद घोषणा गर्न माग


एजेन्सी – दिल्ली हिंसाका क्रममा ज्यान गुमाएका प्रहरी हवल्दार रतन लाललाई सहिद घोषणा गर्न माग गरिएको छ । उत्तर-पूर्वी दिल्लीमा सोमबार नागरिकता स‌ंशोधन कानुन (सीएए) को विरोधमा भड्किएको हिंसा नियन्त्रणका क्रममा ज्यान गुमाएका प्रहरी हवल्दार रतनलाललाई सहिद घोषणा गर्न परिवारले माग गरेका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले मंगलबार मृतक रतनलालको श्रीमतीलाई एक पत्र लेख्दै प्रहरी हवल्दार रतनलालको असामयिक निधनप्रति दु:ख व्यक्त गरेका थिए । उनले पठाएको पत्रका लेखिएको थियो, “तपाईंको श्रीमानको असामयिक निधनप्रति गहिरो दु:ख तथा समवेदना व्यक्त गर्दछु । उनी एक साहसी र कतर्व्यनिष्ठ प्रहरी थिए । एक सच्चा सिपाही भएर ठूलो चुनौती सामना गरेका थिए । उनले मुलुकको सेवा लागि जीवन नै गुमाउनु पर्‍यो ।”

आजै गृहमन्त्री शाहले दिल्ली हिंसामा घाइते डेपुटी कमिसन अफ पुलिस अमित शर्माका आफन्तसँग कुरा गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । दिल्लीको गुरु तेगबहादुर अस्पतालका अनुसार बुधबार बिहानसम्म १८ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी दिल्लीमा नागरिकता संशोधन कानुनको समर्थन र विरोध गर्ने समूहबीच झडप भएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसा नियन्त्रण गर्न प्रहरी अपर्याप्त भएकोले सेना परिचालन गर्नुपर्ने माग गरेका छन् । – एएनआई