अमेरिका र तालिवानबीच कतारको दोहामा शान्तिसम्झौता

अमेरिका र तालिवानबीच कतारको दोहामा शान्तिसम्झौता


एजेन्सी – अमेरिका र तालिबानबीच कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी हिंसात्मक द्वन्द्व अन्त्य गर्न अमेरिका र तालिबानबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । यो कार्यक्रमको साक्षीका लागि विश्वभरीका ३० देशका प्रतिनिधिलाई बोलाइएको थियो ।

अमेरिका र अफगानिस्तान सरकारले जारी गरेको संयुक्त वक्तव्यअनुसार तालिबानले सम्झौता पालना गरेको खण्डमा आगामी १४ महिनाभित्र अफगानिस्तानमा रहेका अमेरिकी तथा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का सैनिक फिर्ता हुनेछन्। दोहामा भएको समारोहमा अमेरिकी विशेष दूत जाल्मे खालिलजाद र तालिबानी नेता मुल्ला अब्दुल घानीले शान्ति सम्झौता हस्ताक्षर गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाले बिबिसीले जनाएको छ। बिबिसीका अनुसार, समारोहमा अमेरिकी विदेशसचिव माइक पम्पियो र तालिबानी नेताहरू उपस्थित थिए।

यो शान्ति सम्झौतापछि अब अफगानिस्तान सरकार र तालिबानबीच थप वार्ता हुनेछ। दोहामा भएको सम्झौताअनुसार तालिबानले आफ्नो इलाकामा अल-कायदा लगायत अन्य कुनै पनि उग्रवादी समूहलाई गतिविधि सञ्चालन गर्न नदिने सहमति जनाएको छ। पाकिस्तान, भारत, इन्डोनेसिया, उज्बेकिस्तान र ताजिकिस्तानका नेतासहितको उपस्थितिमा भएको सम्झौताअनुसार अमेरिकालाई अफगानिस्तानमा रहेका आफ्ना सेन फिर्ता लान बाटो खुलेको छ।

अन्तिम चरणको शान्ति सम्झौता हुनुपूर्व विश्वासको वातावरण बनाउन अस्थायी युद्धविराम गर्नुपर्ने अमेरिकी आग्रहलाई लिएर दुवै पक्षबीच लामो समयदेखि असमझदारी थियो। तर केही समयअघि यस विषयमा पनि सहमति भएसँगै फेब्रुअरी २२ बाट एक साता लामो अस्थायी युद्धविराम भएको थियो। अमेरिकाले अस्थायी युद्धविराममा तालिवानको गाम्भीर्यलाई हेरेर मात्र अन्तिम शान्ति सम्झौता गर्ने बताएको थियो।

अस्थायी युद्धविरामको अवधिमा दुवै पक्षबाट हिंसात्मक गतिविधि नभएपछि अमेरिका र तालिवानबीच शान्तिसम्झौता भएको हो। शनिबार हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सेना र लगभग १७ हजार नेटो सेना तैनाथ छन्। तालिवानसँग युद्ध लडिरहेको अफगान सुरक्षाफौजलाई प्राविधिक सहयोगका लागि अमेरिका र नेटोले आफ्ना सेनालाई त्यहाँ राख्दै आएको हो।

‘अमेरिकाले १ सय ३५ दिनभित्र अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्यालाई घटाएर ८ हजार ६ सय र्पुयाउने र तालिवानसँगको सम्झौताका अन्य बुँदालाई कार्यान्वयन गर्ने प्रतिबद्धता यसै संयुक्त घोषणापत्रमार्फत गरिन्छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

यो पनि पढ्नुहोस्

अमेरिका-तालिबानबीच आज शान्ति सम्झौता हुंदै