कोरोना भाइरसबाट इरानमा ७७ जनाको ज्यान गयो, २३ सांसद संक्रमित

कोरोना भाइरसबाट इरानमा ७७ जनाको ज्यान गयो, २३ सांसद संक्रमित


एजेन्सी – कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो तथ्यांकसँगै इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको मन्त्रालयले बताएको छ ।

प्राप्त समाचार अनुसार इरानका २३ जना सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा संक्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ संक्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए । इरानमा एकै दिन कोरोना भाइरसका कारण यति धेरै संक्रमित भेटिएको यो पहिलो दिन हो ।

इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले राज्य सञ्चालित टेलिभिजनबाट प्रशारित प्रतिक्रियामा बताए ।

उनले भने, ‘पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ र योसँगै इरानमा संक्रमितको संख्या दुई हजार ३३६ पुगेका छ । घातक यो भाइरस संक्रमणका कारण ७७ जनाको मृत्यु भएको छ ।’

नयाँ भाइरसको संक्रमणको केन्द्र मानिएको मूख्यभूमि चीन र खासगरी हुबेई प्रान्तको वुहानमा गरी मंगलबारसम्म दुई हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमणबाट चीनबाहिर सबैभन्दा बढी व्यक्तिको इरानमा मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । विश्वभर यस भाइरसको संक्रमणका कारण मृत्यु हुनेको आधिकारिक संख्या तीन हजार ११६ पुगेको छ ।

संक्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको संख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।

यसैबीच इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले सबै नागरिकलाई कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाई लगायत रोकथामका अन्य उपायलाई अवलम्वन गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘सबै नागरिकले रोकथामका उपाय र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले दिएको निर्देशनलाई पढ्न, सिकाउन र पालना गर्न आवश्यक छ ।’