खानेपानीमन्त्रीसँग एडिबीका उच्च अधिकारीको भेटवार्ता

खानेपानीमन्त्रीसँग एडिबीका उच्च अधिकारीको भेटवार्ता


काठमाडौँ- खानेपानीमन्त्री विना मगरसँग एसियाली विकास बैंक (एडिबी)को दक्षिण एसिया विभागका महानिर्देशक हुन किमले शिष्टाचार भेटवार्ता गरेका छन् । खानेपानी मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मगर र महानिर्देशक हुनबीच खानेपानी आयोजना र सेवा प्रणालीका विषयमा छलफल भएको मन्त्री मगरका प्रेस संयोजक गणेशदत्त भट्टले जानकारी दिए ।

छलफलमा मन्त्री मगरले मेलम्ची खानेपानी विकास आयोजनाले चक्रपथभित्र खानेपानी वितरणको योजना बनाएको र चक्रपथ बाहिरसमेत खानेपानी आपूर्तिका लागि सरकार लागि परेको बताईन् । मेलम्ची खानेपानी आयोजनाबाट प्रवाह हुने पानीलाई वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग हुने समन्वयका विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

काठमाडौँ उपत्यकाको मागअनुसार मेलम्चीको पानीले मात्रै आपूर्ति हुन नसक्ने भएकाले दोस्रो चरणको परियोजना सञ्चालन प्रक्रिया अगाडि बढाउने योजना रहेको मन्त्री मगरले बताईन् । एसियाली विकास बैंकले ढल तथा सरसफाइ व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा सहयोग गरिरहेको सन्दर्भमा मन्त्री मगरले उपत्यका बाहिरसमेत सहयोग गर्न सकिने÷नसकिनेबारे चासो राखेकी थिईन्।

मन्त्रालयले सातवटै प्रदेशका मुख्य शहरमा ढल व्यवस्थापन तथा खानेपानीका लागि विशेष योजना सञ्चालन गर्ने भएको छ । महानिर्देशक हुनले मेलम्ची दोस्रो चरणको आयोजना निर्माणका लागि एडिबीले सहयोग गर्ने प्रतिबद्धता जनाए । चक्रपथ बाहिरसमेत खानेपानी वितरणका लागि केयुकेएलमार्फत अगाडि बढ्न सकिने र प्रदेशस्तरीय योजना कार्यान्वयनमा समेत बैंक सकारात्मक रहेको उनले बताए ।