गृहमन्त्री बादलसँग युएनका प्रतिनिधि जुलियान्डको भेटवार्ता

गृहमन्त्री बादलसँग युएनका प्रतिनिधि जुलियान्डको भेटवार्ता


काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि संयुक्त राष्टसंघ(युएन)का आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल र संयुक्त राष्टसंघबीचको सम्बन्ध, नेपालको विकासमा संयुक्त राष्टसंघले खेल्दै आएको भूमिकाको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री नियुक्त भएकोमा मन्त्री बादललाई संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपि) को नेपाल प्रमुख समेत रहेका जुलियान्डले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिए ।

गृहमन्त्री बादलले नेपालको आर्थिक विकासमा राष्ट्रसंघ र युएनडिपीले खेल्दै आएकोे भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे । उनले नेपालमा विपद् व्यवस्थापन, भूटानी शरणार्थी र आप्रवासको क्षेत्रमा राष्ट्रसंघले खेलको भूमिकाको सराहनीय रहेको बताउँदै यि क्षेत्रमा थप सहयोगको अपेक्षा आफुहरुले गरेको बताए ।

भेटमा जुलियान्डले विपद् व्यवस्थापन ऐन ल्याउन सफल भएकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई बधाई दिँदै ऐन कार्यान्वयनको पक्षबारे चाँसो राखेका थिए । ऐन अनुरुप विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारीबारे उनको जिज्ञासामा गृहमन्त्री बादलले प्राधिकरण निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिए ।

जुलियान्डले राष्ट्रसंघ र यसका सहयोगी निकायहरुको पहलमा करिब एक लाख १२ हजार भुटनी शरणर्थीहरुलाई तेस्रो मुलुक स्थानान्तरण गरीसकिएको र थप एक हजारलाई लैजाने तयारी भईरहेको जानकारी दिए ।

उनले पुनर्वास कार्यक्रममा जान अनिच्छुक करिब छ हजार भुटानी शरणार्थीहरुको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न आफुहरु ईच्छुक रहेको बताए । जुलियान्डले संघियतामा नेपालको सुरक्षा निकायको स्वरुपबारे समेत भेटमा चाँसो राखेका थिए ।