संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन आज

संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन आज


काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन हुँदैछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो ।

मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद् सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेका छन् । अपराह्न ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद् सचिवालयले सबै कार्य पूरा गरेको छ । निर्वाचनपछि संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुर्सी व्यवस्थापन गरेको थियो

। प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष लगायतले स्वागत गर्नेछन् ।

बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नेछन् । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुनेछैन । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।