रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार, मागभन्दा झण्डै छ गुणा बढी आवेदन

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार, मागभन्दा झण्डै छ गुणा बढी आवेदन


काठमाडौँ – रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ । रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिए ।

दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेका थिए । सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो । यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो ।

दुवै कम्पनीको साधारण शेयरमा कूल मागको तुलनामा छ गुणा बढी आवेदन परेको छ । दुवै कम्पनीमा सञ्चयकर्ताका लागि  दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता शेयर छुट्याइएको थियो । ती आवेदनबाट  ११ अर्ब संकलन भएको छ ।

रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए । रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ । मागभन्दा झण्डै छ गुणा बढी आवेदन परेकाले शेयर संख्या कम भएको हो । रसुवामै निर्माण भइरहेको ५७.३ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।