फोहोर संकलन गर्न आफै ठमेल पुगे वातावरणमन्त्री बस्नेत

फोहोर संकलन गर्न आफै ठमेल पुगे वातावरणमन्त्री बस्नेत


काठमाण्डौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले घरभित्रको फोहोर आँगनमा फालेर ‘स्वच्छ वातावरणको माग गर्ने संस्कार त्याग्न नागरिकलाई आग्रह गर्नुभएको छ ।

टे«किङ व्यवसायीहरुको संगठन टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजनामा सुरु भएको ‘आत्मनिर्भर पर्यटनका लागि सफा वातावरण’ नामक सरसफाई तथा जनचेतना कार्यक्रमको शनिबार पर्यटकीय नगरी ठमेलमा उद्घाटन गर्दै मन्त्री बस्नेतले नागरिकको सहभागिताबिना वातावरण स्वच्छ हुनै नसक्ने स्पष्ट गर्नुभयो ।

नेपालको संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको चर्चा गर्दै उहाँले नागरिक र सरकारको सहकार्यमा वातावरण स्वच्छ बनाउुपर्नेमा जोड दिनुभयो ।

‘संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘नागरिकले आफ्नो घरभित्रको फोहोर आँगनमा फालेर स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको माग गर्ने हो भने वातावरण स्वच्छ हुन सक्दैन ।’ उहाँले आफ्नो घर तथा वरिपरिको फोहोर आफैं सफा गर्ने संस्कारको विकास गर्न सकिए वातावरणीय प्रदूषण रोक्न कठिनाई नहुने स्पष्ट गर्नुभयो ।

कार्यक्रममा मन्त्री बस्नेत आफैं सहभागी भएर फोहोर संकलन गर्नुभएको थियो । यस्तै टानका अध्यक्ष नवराज दाहालले ठमेलबाट सुरु भएको अभियान देशैभर फैलाउने बताउनुभयो । आफूहरुको अभियान प्रचारका लागि मात्र नभई काम गर्नकै लागि भन्दै दाहालले काठमाण्डुको मात्र नभई धवलागिरी हिमालसम्मको फोहोर सफा नगरी अभियान नरोकिने घोषणा गर्नुभयो ।