ठेउलेखोला जलविद्युतकाे परीक्षण उत्पादन शुरु, १.५ मेगावाट दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने

ठेउलेखोला जलविद्युतकाे परीक्षण उत्पादन शुरु, १.५ मेगावाट दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने


बागलुङ – जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका अध्यक्ष एवम् इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । “हामी सबै हिसाबले तयारी अवस्थामा छौँ”, उनले भने, “दुई साताभित्रै परीक्षण प्रसारण शुरु हुन्छ ।” १५ दिन परीक्षण प्रसारण भएपछि आयोजनाबाट व्यावसायिक उत्पादन शुरु हुने छ ।

आयोजनाबाट निस्कने विद्युत् अस्थायी रूपमा बागलुङ नगरपालिका–१२ टुनीबोटबाट केन्द्रीय प्रसारणमा जोडिनेछ । ३४ करोड ५० लाखको लागतमा निर्मित आयोजनाबाट न्यूनतम ५०० किलोवाटदेखि १.५ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । सुख्खा याममा पानीको सतह घट्ने हुँदा उत्पादन पनि कम हुने इन्जिनियर अधिकारीले बताए ।

बागलुङ जिल्लाभरिको मागको ४० प्रतिशत माग आयोजनाबाट उत्पादित विद्युत्ले धान्ने जनाइएको छ । दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दी जस्ता कारणले पछि धकेलिएको थियो । इन्धन अभावले महिनाँैसम्म आयोजना निर्माण कार्य ठप्प बनेको थियो ।