दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु

दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु


श्रीनगर– दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको मृत्यु भएको छ । उक्त झडपमा परी तीन सैनिक तथा दुई सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।

झडपका बिषयमा जानकारी दिन सेना, प्रहरीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा जम्मु तथा काश्मिर क्षेत्रका प्रहरी प्रमुख एस पी वाइदले भने, “आइतबार आतङ्कवादी समूहविरुद्ध व्यापक प्रतिकार भएको र झडपमा परी कम्तिमा ११ जना विद्रोही लडाकू, तीन सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको छ ।”

सुरक्षाकारबाहीमा उक्त क्षेत्रमा सक्रिय हिजवुल मुजाहिद्दिन तथा लस्कर–ए–तैवा समूहमा आवद्ध विद्रोही विरुद्ध ठूलो सफलता पाएको स्थानीय अधिकारीले बताए । सोपियानमा भएको सुरक्षा कारबाहीका क्रममा तीन सैनिक जवानले शाहदत प्राप्त गरेका छन् भने भिडन्तका क्रममा भत्किएका संरचना हटाउने क्रममा तीन विद्रोहीको मृतशरीर भेटिएको बताइएको छ ।

कचेदुरा क्षेत्रमा भएको दोहोरो झडपमा २५ जना सर्वसाधारणलाई गोलीका छर्रालागि सामान्य घाइते भएका छन् भने छ जनालाई गहिरो चोट लागेको छ । सोपियानमा विद्रोहीसँग ठूलो सङ्ख्यामा स्थानीयहरू आएका कारण प्रहरीको जवाफी कारबाहीमा केही सर्वसाधारणसमेत घाइते हुन पुगेका प्रहरी इन्सपेक्टर जनरल जुल्फिकार हसनले बताए । रासस/पिटीआई