एमाले-माअाेवादी पार्टी एकता वैशाख ९ गते भित्र नै हुन्छ : शक्ति बस्नेत

एमाले-माअाेवादी पार्टी एकता वैशाख ९ गते भित्र नै हुन्छ : शक्ति बस्नेत


काठमाडौं– वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बैशाख ९ भित्रै नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकता हुने दावी गरेका छन् । बस्नेतले सोमबार सिंहदवारमा पत्रकारसँग कुरा गर्दै दुवै पार्टीका कार्यादलले प्रतिवेदन बुझाईसकेको जानकारी दिदै वैशाख ९ गते भित्र नै पार्टी एकता हुने दावी गरेका हुन् ।

माओवादी केन्द्रका नेता समेत रहेका बस्नेत पार्टी उकता कार्यादलको सदस्य समेत हुन् । दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेका छन्’, उनले भने, ’पार्टी एकता संयोजन समितिमा अन्तिम छलफल हुन्छ।’ एकताको विभिन्न मोडेलमा छलफल भइरहेको छ’, उनले भने, ’चैत २३ अगाडि नै एकताको घोषणा गर्ने कोसिस थियो । अब पूर्वनिधारित समय कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन हुने देखियो।’

मन्त्री बस्नेतले मुलुक र जनताको समृद्धिमा बाधक देखिएका कतिपय पुराना ऐन÷कानुन परिवर्तन गरिने बताए । ऐन÷कानुनहरु विकास र समृद्धिको साधक हुनुको साटो बाधक बन्ने गरेको गुनासो आउने गरेको भन्दै उनले तिनलाई समय सापेक्ष परिवर्तन गरिने बताए ।

‘ऐन/कानुनहरु विकासको बाधक होइन साधक हुनुपर्छ’, संसदीय मामिलामा कलम चलाउने पत्रकारहरुसँग सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले भने, ‘यदि कुनै ऐन/कानुनले विकासमा बाधकको भूमिका निर्वाह गरिरहेका छन् भने तिनलाई फेर्नुपर्छ ।’

मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले विकासविरोधी भूमिका निर्वाह गर्दै आएको आरोप खपिरेहकोबारे जानकार रहेको भन्दै त्यस्तो भए परिमार्जन गरिने स्पष्ट गरे । ‘वन र वातावरण मन्त्रालय समृद्धिको बाधक हुँदैन’ उाले भने ।

उनले आफ्नो मन्त्रालयअन्तर्गतका निकायले जनतालाई प्रदान गर्ने सेवा/सुविधामा झण्झटिलो र असान्दर्भिक प्रावधानहरु भए सम्बद्ध पक्षहरुको रायसमेतका आधारमा त्यसलाई परिवर्तन गर्न तयार रहेको प्रतिबद्धता गरे । उनले वन क्षेत्रले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने गरी काम गरिने उल्लेख गरे ।

राजधानीसहित मुलुकका विभिन्न सहरको वातावरण प्रदूषण रोक्ने गरी मन्त्रालयले छिट्टै कार्ययोजना ल्याउन लागेको बताए । दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता हुन लागेकाले बहस र छलफल हुनुलाई अन्यथा अर्थमा लिन नहुने उनको भनाइ छ । ‘वैशाख १० मा पार्टी एकता हुन्छ’, बस्नेतले भने, ‘अहिलेको गठबन्धन सरकार बहुमतको सरकारमा परिणत हुन्छ ।’