निर्माण व्यावसायीलार्इ खानेपानी मन्त्रीकाे निर्देशन : ‘जनतालाई सास्ती नहुने गरी हुलाकी सडकको काम गर्नुस’ !

निर्माण व्यावसायीलार्इ खानेपानी मन्त्रीकाे निर्देशन : ‘जनतालाई सास्ती नहुने गरी हुलाकी सडकको काम गर्नुस’ !


पुनर्वास- खानेपानी मन्त्री बिना मगरले हुलाकी सडकको निर्माण कार्य गर्दा जनतालाई सास्ती नहुने गरी तीव्रगतिमा काम गर्न निर्देशन दिएकि छिन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीले जनतालाई सास्ती भइरहेको बताउँदै मन्त्री मगरले छिटो निर्माण सक्न निर्देशन दिएकि हुन् ।

‘जनताको सास्ती हामी हेरेर बस्न सक्दैनौं, अरु निकायसँग पनि छलफल गर्नुपर्ने भए हामी गर्छौ’, हुलाकी सडक आयोजना धनगढीका कर्मचारी र निर्माण व्यावसायीसँग छलफल गर्दै मन्त्री मगरले भनिन्, ‘हामी चुप लागेर बस्न ठिक हुँदैन ।’ कञ्चनपुरको डोकेबजार–बेलौरी–बेल्डाडी–दैजी हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि मन्त्री मगरले छ्लफल गरेकि हुन् ।

मन्त्री मगरले आगामी असारसम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र बर्खामा हिलो हुन नदिने उपायका बारेमा छलफल समेत गरेकि छिन् । असारसम्म माटो फिलिङ र ग्राभेलिङको आधा काम गर्न सकिने निर्माण व्यावसायीले जनाएका छन् । ‘तोकिएको समयमै काम सक्ने गरि काम भइरहेको छ’, निर्माण व्यावसायी रोशन भट्टले भने ।

छलफलमा निर्माण व्यावसायीले बजेटको समस्या र निकुञ्ज क्षेत्रमा काम गर्न भइरहेको अवरोधबारे गुनासो गरेका थिए । जवाफमा मन्त्री मगरले काम गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी आफ्नो भएको बताए । कार्यक्रममा बोल्दै आयोजना इन्जिनियर नरेन्द्र ओझाले निर्माण कार्य सन्तोषजनक रहेको बताए ।