एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिन्छ : नेता खनाल

एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिन्छ : नेता खनाल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा स्थायित्व र समृद्धिका लागि गठबन्धनको एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिने बताएका छन् । नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघले संयुक्तरुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले एकीकरणका लागि आवश्यक गृहकार्य करीव पूरा भइसकेकाले बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले महत्वपूर्ण निर्णय लिने बताएका हुन् ।

सो प्रक्रियाले सबै नेतालाई न्यायोचित ढंगले जिम्मेवारी प्रदान गर्ने बताउँदै त्यसपछि खेलकुद क्षेत्र पनि व्यावसायिक रुपमा अगाडि बढ्ने बताए । युवा तथा खेलकुद मोर्चा इन्चार्ज तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले खेलकुदको क्षेत्रबाट मुलुकको पहिचान र समृद्धि कायम हुने बताउँदै त्यसका लागि युवालाई परिचालन गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले खेलकुदको विकासका लागि स्थानीय तहदेखि नै केन्द्रसम्म युवालाई आकर्षित गराउनुपर्नेमा जोड दिए । पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कस्तो खेलका लागि कति जनशक्ति उत्पादन गर्ने भन्नेबारे छलफल गरी सातै प्रदेशमा संरचना तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए । कार्यक्रममा मन्त्री विष्ट तथा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो ।