नेपाल–भारत सम्बन्ध अब तस्बिर आफैं बोल्छः प्रधानमन्त्री ओली

नेपाल–भारत सम्बन्ध अब तस्बिर आफैं बोल्छः प्रधानमन्त्री ओली


काठमाडौ‌ – प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण बनावटी, देखावटी नभई यर्थाथमा आधारित भएको बताएका छन्। तीन दिने राजकीय भ्रमणबाट आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ जनमतलाई भारतले अब स्वागत गरेको उल्लेख गरे।

‘२१ औं शताब्दीमा हामी बाँकी दुनियासँग कसरी सम्बन्ध राख्न चाहन्छौं भन्ने स्पष्ट भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो भ्रमण बनावटी, देखावटी कुरामा होइन यथार्थामा आधारित र उपलब्धी पूर्ण भएको छ।’ उनले नयाँ संविधान बनेपछि आएको चुनावी जनमत बोकेर आफू भारत पुगेको उल्लेख गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। भारतले यहाँको जनमतलाई स्वागत गरेर अघि बढेको प्रधानमन्त्री ओलीले बताए।

‘नेपाल भारत सम्बन्ध, अब तस्बिर आफैं बोल्छ,’ प्रधानमन्त्री ओलीले सम्बन्धमा आएको सुधारबारे भने ,‘हामी सम्बन्ध बिगार्दैनौं र बिग्रिदैन, पारस्परिक लाभमा आधारित मित्रतापूर्ण सम्बन्ध अघि बढ्छ।’ भारतीय नाकाबन्दीका बेला पनि प्रधानमन्त्री रहेका ओलीको त्यसबेला सम्बन्ध बिग्रिएको थियो।

प्रधानमन्त्री ओलीले वैदशिक सम्बन्धको प्रस्थानविन्दु नै मित्रता हुने कुरा आफूले संसदलाई जानकारी गराएको उल्लेख गर्दै भ्रमणले मित्रतापूर्ण सम्बन्धलाई सुधार गरेको जानकारी पनि दिए। ‘भ्रमणले विश्वास अभिवृद्धि भएको छ,’ प्रधानमन्त्री ओलीले भने। उनले भ्रमणका क्रममा उल्लेखनीय सम्झौताहरु भएको र विगतका सम्झौताहरु कार्यान्वयनमा विषेश पहल भएको जानकारी दिए।

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा विगतमा सहमति र सम्झौता कार्यान्वयनकै विषयमा बढी केन्द्रित भएको ओलीले बताए। जलमार्ग, रेलमार्ग कृषिमा सहयोग गर्ने विषयमा पनि कुराकानी भएको उनले उल्लेख गरे।

उर्जा व्यापार सम्झौता, पञ्चेश्वर परियोजना प्रतिवेदन प्रागमिकतासाथ अघि बढाउनुपर्ने, हुलाकी मार्ग शिघ्र कार्यानवय गर्ने विषयमा पनि कुराकानी भएको जानकारी दिए।