तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छः डा पाण्डे

तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छः डा पाण्डे


काठमाण्डु – जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले कोरोना भाइरसको संक्रमण बढिरहेकाले चाडबाड मनाउँदा सावधानी अपनाउन आग्रह गरेका छन् ।

डा. पाण्डेले नजिकिँदै गरेको तिज र कुशे औंशीले कोरोना भाइरसको संक्रमण बढाउने भएकाले सतर्क रहन आग्रह गरेका छन् ।

डा. पाण्डेले सोमबार सामाजिक सञ्जालमार्फत तीजमा जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्न पनि आग्रह गरेका हुन् ।

यस्तो छ उनको सुझावः

अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं । हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् । को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन । तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ । हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ । दरले डर हुन्छ । घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ । यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं र हेरौं ।

त्यस्तै कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला । हामी संक्रमित हुनसक्छौं । हामीलाई संक्रमणले असर नगरेपनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ । संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ ।

यसपटक १ जना पाहुनालाई समेत घरमा बोलाउने काम नगरौं, आफुपनि पाहुना भएर कतै नजाऔं । महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुनेछन् । दिदीबहिनी वा चेलीबेटीलाई नबोलाए उनीहरुले के भन्छन् होला, बुवाआमालाई नभेट्दा उहाँहरुले के सोंच्नुहोला भनेर हामीले नसोचौं । महामारीको समयमा पाहुना नबोलाएमा वा आफुपनि नगएमा उहाँहरु खुसी हुनुहुनेछ ।