पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि रकम निकासा भएको हो ।कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट एक करोड निकासा भएको छ ।

जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पिसिआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले बताए । सो मेसिन जडानका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम आइसकेको सांसद पाण्डेयले जानकारी दिए ।

मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पिसिआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताउंछन् । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पिसिआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।

जिल्लामा पिसिआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो । अब भने जिल्लामै पिसिआर परीक्षण हुने भएपछि छिट्टै नतिजा थाहा पाउन सकिन्छ । यहाँ पिसिआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुनेछ ।रासस