सिन्डिकेट खारेजको विरोधमा व्यवसायीको आन्दोलन : २१ गतेदेखि ग्यारेजमा गाडी थन्क्याउने

सिन्डिकेट खारेजको विरोधमा व्यवसायीको आन्दोलन : २१ गतेदेखि ग्यारेजमा गाडी थन्क्याउने


काठमाडौं – यातायात व्यवस्था विभागले जारी गरेको नयाँ निर्दे्शिका र  कार्यविधि तथा मन्त्रीपरिषद्को निर्णयविरुद्ध यातायात व्यवसायीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सरकारले सिन्डिकेट खारेज गर्दै यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि क्रुद्ध बनेका व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा थन्क्याउने निर्णय गरेको छ । २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रम रहेको उल्लेख गरिएको छ । त्यसपछि आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।

यातायात व्यवसायीले देशभरका यातायात कार्यालय घेराउदेखि सवारी साधन ग्यारेजमा थन्क्याउनेसम्मका कार्यक्रम अघि सारेका छन्। उनीहरुले ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गतेदेखि सवारी साधनमा कालोझण्डा राख्ने र वैशाख १० तथा ११ गते प्रत्येक प्रदेशमा कोणसभा गर्ने जनाएका छन्।

व्यवसायीहरुले वैशाख १२ र १३ गते तालिका फ्रि छाड्ने तथा १४ र १५ गते क्यू फ्रि छाड्ने जनाएका छन्। वैशाख १६ गते यातायात कार्यालय घेराउ गर्ने उनीहरुको तयारी छ। सरकारले आफ्ना माग सुनुवाई नगरे वैशाख २८ गतेपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने उनीहरुले बताएका छन्। यातायात व्यवसायीले समितिहरु कम्पनीमा दर्ता हुनुपर्ने प्रावधान कार्यान्वयन गर्न नसकिने र समिति खारेजीको निर्णय आफूहरुलाई मान्य नहुने पनि जनाएका छन् ।

सरकारले सिन्डिकेटको पक्षमा हडताल गरे गाडी नियन्त्रणमा लिएर सुरक्षाकर्मीले चलाउने चेतावनी दिइसकेको छ ।