काठमाण्डु- बाँके र स्याङजामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका-८ स्थित सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३ वर्षीय लिलाधर खड्का र घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
खड्कालाई सर्पले टोकेर घाइते भएपश्चात उपचारका लागि लैजाने क्रममा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुवै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङजा, वालिङ नगरपालिका-५ माझकोटस्थित सडकमा बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय श्याम पंगिनी र सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनालाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया