मुस्कान खनाल
भोली आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजा आजा गरी विश्वकर्मा दिवस मनाउने परम्परा छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समय देखि पूजा आजा गर्ने परम्परा बसेको भन्ने धार्मिक विश्वास रहि आएको छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवता मध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।
यही सम्झनामा नेपालमा पनि भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।
वास्तुशास्त्र प्राचीन विज्ञान हो र यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ ― देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ । त्यसैले यहाँ वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी राखेका छौँ:
१ . मुख्य द्वार
भवनमा प्राण (जीवन–ऊर्जा)को प्रवेशका लागि द्वारको स्थिति र द्वार खोलिने दिशाले वास्तुलाई विशेष गणनाद्वारा चुनेको हुन्छ । यसको ठीक चयनले सकारात्मक ऊर्जाको प्रवाह बढाउन सकिन्छ । घरको अगाडि र पछाडिको द्वार सीधा एउटै लाइनमा हुनुपर्छ, जसका कारण ऊर्जाको प्रवाह विनारोकावट चलिरहोस् । प्रमुख प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुनु शुभ मानिन्छ । साथै यसको ढोका अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ ।
२. स्वागत कक्ष
अतिथिका लागि स्वागत कक्ष पूर्व वा उत्तर दिशामा हुनु आदर्श मानिन्छ । दक्षिण फर्किएको घरमा भने उत्तर–पश्चिम वा त्यसको आसपासमा उपयुक्त हुन्छ । स्वागत कक्षमा सोफा आदि दक्षिणतर्फ वा पश्चिमतर्फ राख्नुपर्छ । पूर्व र उत्तर दिशा सकेसम्म खुला भएको राम्रो मानिन्छ ।
३. भान्साघर
दक्षिण–पूर्वको कुना (आग्नेय) कोणमा पकाएको खानाले सुस्वास्थ्य प्रदान गर्दछ । भान्सामा पकाउँदा जहिल्यै पनि पूर्व फर्केर पकाउने विधान छ । दक्षिण–पश्चिमको कुना (नैऋत्य) कोणमा पनि भान्सा बनाउन सकिन्छ तर त्यहाँ पकाउँदा पनि पूर्व फर्केर नै पकाउनुपर्छ । भोजन गर्दा सधैँ पूर्व फर्केर गर्नु श्रेयष्कर हुन्छ ।
४. पूजाकोठा
वास्तुशास्त्रअनुसार ईशान कोण (पूर्व–उत्तर) कुना शक्ति र ऊर्जाको स्रोत हो । ईशान कोण साधना र उपासनाको उच्च स्थान हो, जहाँबाट परमात्मासँग प्रत्यक्ष सम्बन्ध बनाउन सकिन्छ । त्यसैले पूजाकोठा उत्तर–पूर्वको बीच भागमा बनाउनु उचित हुन्छ । यसका अलावा उत्तर र पूर्व पनि शुभ नै मानिन्छ । साथै, १२ इन्चभन्दा अग्ला मूर्तिहरू घरको पूजाकोठामा राख्नु हुँदैन ।
५. धनसार
दक्षिण र नैऋत्य कोण (पश्चिम–दक्षिण) दिशामा धनकोष राख्नु सर्वोपयुक्त मानिन्छ भने गाडी तथा सवारीसाधनका लागि आग्नेय कोण (पूर्व–दक्षिण) उपयुक्त हुन्छ ।
६. अध्ययन कक्ष
अध्ययन कक्ष नैऋत्य र पश्चिम दिशाको मध्य, पश्चिम दिशा, वायव्य दिशा, उत्तर दिशा वा ईशान कोणको पूर्व दिशामा बनाउनु उपयुक्त हुन्छ । उत्तर, ईशान र पूर्व दिशा अगम्य ज्ञान र तेजको दिशा हो ।
७. स्नान घर
स्नान घरका लागि पूर्व दिशा सर्वाधिक उत्तम मानिन्छ । नमिलेको खण्डमा पश्चिम दिशामा पनि बनाउँदा शुभ नै हुन्छ । स्नान घरको ढोका पूर्व वा उत्तर फर्केको अनिवार्य हुन्छ । स्नान घरको रङ गाढा नभई हल्का वा आफ्नो राशिअनुसारको रङ प्रयोग गर्दा राम्रो हुन्छ ।
८. शौचालय
घरमा शौचालय बनाउँदा पश्चिम बायाँबाट हल्का हटेर दक्षिणतर्फ बनाउँदा शुभ हुन्छ । शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा उत्तर वा दक्षिण फर्किनु आवश्यक छ ।
९. शयन कक्ष
घरमूलीको शयन कक्ष घरको दक्षिण–पश्चिममा र सुत्नेको शिर दक्षिणतर्फ हुनुपर्छ भने विद्यार्थीचाहिँ पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ ।
१०. इनार वा जलाशय
ईशान कोणमा इनार खन्दा छिटै पानी प्राप्त हुन्छ र पछिसम्म नसुक्ने हुन्छ । त्यसैले इनार वा अन्डरग्राउन्ड पानीट्यांकी राख्दा ईशान कोणको मध्यरेखाको दायाँ वा बायाँ भागमा वा पूर्व दिशामा उपयुक्त मानिन्छ ।
प्रतिक्रिया