‘बुद्धिजीवी’लाई प्रधानमन्त्रीको व्यंग्य : जीविका चलाउँदा मुसाले जस्तो सुट नकाट्नु

‘बुद्धिजीवी’लाई प्रधानमन्त्रीको व्यंग्य : जीविका चलाउँदा मुसाले जस्तो सुट नकाट्नु


काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कतिपय बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध भ्रम फैलाउने खेतीमा लागेको आरोप लगाएका छन् । एमाले पार्टी कार्यालय, धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले जीविकाका नाममा कतिपय बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध लागेको गम्भीर आरोप लगाए ।

‘मुसाले दाँतमा धार लगाउन थोत्रो कपडा काटे हुन्थ्यो, थाहा नपाउँदा ससुराली जाने सुटै काटिदिन्छ, तर बुद्धिजीवीले त जीविकाका लागि बुद्धि धार लगाउँदा देशलाई नोक्सान नपारे हुने हो,’ ओलीले भने, ‘म रारामा पुगेर देश समृद्धिको कुरा गर्ने्बित्तिकै तालको नामै महेन्द्र ताल लेख्ने हाम्रा बुद्धिजीवी देख्दा अचम्म लाग्छ ।’

प्रधानमन्त्री ओलीले कांग्रेस शेरबहादुर देउवाले अर्थै नबुझेर आफूलाई ‘लम्पसारवाद’को आरोप लगाएको भन्दै आलोचना पनि गरे । ‘यसपटकको भारत भ्रमणबाट फर्किएपछि एउटा नेताले मलाई लम्पसारवादी भनेको सुनेँ, कसैले कुनै वेला कतै आफैँ लम्पसार परेको सम्झेर त्यस्तै गर्‍यो होला फर्किएपछि भन्नुपर्छ भन्ने ठानेर बोल्यो होला,’ उनले भने, ‘तर उनले आफैँलाई सम्झेर अर्थ नबुझ्दा अहिलेको प्रधानमन्त्रीलाई त्यसो भन्दा दुनियाँ हाँस्लान् भन्ने बिर्सिएछन्, त्यसको कुनै अर्थ छैन ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ शक्ति पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य लीला भण्डारी, पूर्वसांसद सुकदैया चौधरी, पूर्वराजदूत माया शर्मासहित एक दर्जनभन्दा बढीलाई एमाले प्रवेश गराए। नयाँ पत्रिका दैनिकमा याे खबर छ ।