एमालेमा प्रवेश गर्ने कुरा झुटो भएको भन्दै नारायणकाजीले भने ‘म एमाले प्रवेश गर्ने हल्ला झुटो हो’

एमालेमा प्रवेश गर्ने कुरा झुटो भएको भन्दै नारायणकाजीले भने ‘म एमाले प्रवेश गर्ने हल्ला झुटो हो’


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् ।यस्ता अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए ।

‘निश्चित रुपमा मैले वाम गठबन्धन र पार्टी एकताका लागि पहल गरेको हुँ’, मंगलबार बिहान उनले भने, ‘निर्णायक पहल भने प्रचण्ड र केपी ओलीले नै गर्नुभएको हो । दुवै पार्टी एक हुँदैछ ।’ माओवादी नेता श्रेष्ठले भनेका छन्, ‘म कमरेड प्रचण्डकै टिमसँग एकतावद्ध छु । अन्यथा सोच्नुपर्ने आवश्यकता छैन ।’

‘जहाँसम्म म एमालेमा जाने भनिएको छ, त्यो सर्वथा झुट हो । त्यसरी सोच्नुपर्ने आवश्यकता पनि छैन’, उनले भनेका छन्, ‘मैले पार्टी एकताका लागि प्रचण्डलाई कुनै दबाब दिएको छैन । तर सहयोग गरिरहेको छु ।’ श्रेष्ठले एमाले र माओवादीबीच पार्टी एकता छिटै हुने दाबी पनि गरे ।

फरक–फरक पृष्ठभूमिका दलबीचको पार्टी एकता प्रक्रिया भएकाले केही ढिला हुनु स्वभाविक भएको श्रेष्ठको भनाई छ । एकताको मिति अहिले नै किटान गर्न नसकिए पनि छिटै एकता हुने उनको दाबी छ ।