वैशाख १२ को भूकम्पको पाठ न जनताले सिके, न सरकारले

वैशाख १२ को भूकम्पको पाठ न जनताले सिके, न सरकारले


काठमाडौँ- भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् ? काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् र ?’

काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका थिए ।

तर, गृहको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले भने, ‘घर भत्काउने उपकरण चाहियो भनेर यहाँ प्रस्ताव पेस भएजस्तो लाग्दैन । भूकम्पसम्बन्धी सम्पूर्ण काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हेर्ने हो । त्यहाँ केही प्रस्ताव पेस भएको हुन सक्छ ?’

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले भने, ‘जोखिमयुक्त घर भत्काउन आधुनिक उपकरण हामीले माग गरेका हौँ । पछि त्यस्तै माग महानगरपालिकाले पनि गरेछ ।’तर, अर्थ मन्त्रालयले कसैलाई पनि बजेट दिएन । योजना त्यत्तिकै थन्कियो ।

पुनर्निर्माणमा १ खर्ब १९ अर्ब खर्च, अझै १ खर्ब ६० अर्ब आवश्यक

१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अझै १ खर्ब ६० अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणमा अहिलेसम्म १ खर्ब १९ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । यसमध्ये ठूलो हिस्सा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको छ ।

पुनर्निर्माण सम्पन्न गर्न दाताले दिएको प्रतिबद्धता, सम्झौता तथा खर्च भइसकेको रकमबाहेक थप १ खर्ब ६० अर्ब आवश्यक पर्ने प्राधिकरणका सिइओ युवराज भुसालले बताए ।

‘आगामी असारमा प्राधिकरण गठन भएको साढे दुई वर्ष पुग्नेछ, प्राधिकरणले पनि त्यसवेलासम्म कम्तीमा आधा काम सम्पन्न गर्नेछ,’ उनले भने । पछिल्लो समय पुनर्निर्माणका लागि स्रोतको अभाव नभएको पनि दाबी गरे । ‘दाता सम्मेलन गरेर या कसरी हुन्छ, थप स्रोत जुटाउने जिम्मा नेपाल सरकारको हो,’ सिइओ भुसालको भनाइ छ ।

दाताको ६० अर्ब आयो, २ खर्ब ८३ अर्ब आएन

भूकम्पको तीन वर्ष  : यस्तो छ पुनर्निर्माण प्रगति

काठमाडौं

प्राधिकरणको सर्वेक्षणमा काठमाडौंमा मात्रै ४८ हजार १ सय ४४ घरमा क्षति भएको देखियो । त्यसमध्ये लाभग्राही सूचीमा ४५ हजार ६ सय २२ मात्रै घर परे । भूकम्प गएको तीन वर्षपछि जम्मा ४ हजार ८ सय ७६ मात्रै घर बनेका छन् ।

ललितपुर
ललितपुरमा ८१ हजार नौ सय ८७ जना भूकम्पबाट प्रभावित बनेको तथ्यांक छ । १७ हजार चार सय ४४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । त्यसमध्ये कुल सर्वेक्षणमा २८ हजार ८ सय ३५ घर परे । तर, लाभग्राही सूचीमा २७ हजार ६ सय १ घर मात्रै परे । अहिलेसम्म एक हजार ७ सय १७ मात्रै घर पुनर्निर्माण भएका छन् ।

भक्तपुर
भक्तपुरमा ८८ हजार आठ सय ३० घर भूकम्पबाट प्रभावित भएका थिए । ३१ हजार १ सय ५९ घर सर्वेक्षणमा परे । तर, लाभग्राही सूचीमा भने २७ हजार ५ सय ९ घर मात्रै परे । १८ हजार नौ सय घर पूर्ण रूपमा क्षतिग्रस्त सूचीमा परे । अहिलेसम्म २ हजार ८०७ घर मात्रै पुनर्निर्माण भएका छन् ।

गोरखा
भूकम्पको केन्द्रबिन्दु परेको गोरखामा ७८ हजार ७४ घरमा क्षति पुगेकामा अहिलेसम्म १८ हजार ४०३ घर निर्माण सम्पन्न भइसकेका छन् । यसैगरी, ४३ हजार ९११ घर निर्माणाधीन अवस्थामा छन् । घर पूर्ण रूपमा क्षति भएका लाभग्राही ६१ हजार ३९३ पहिचान भएका थिए भने २ हजार १९ लाभग्राहीका घर मर्मत गरेर बस्नयोग्य थिए ।

दोलखा
६२ हजार ८ सय ३३ परिवार भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएकामा ५८ हजार १ सय २० जनाले अनुदान सम्झौता गरेका छन् । हालसम्म ५७ हजार ४ सय ४० परिवारले पहिलो किस्ताको अनुदान रकम बुझिसकेको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय प्रमुख सागर आचार्यले जानकारी दिए ।

२० हजार १०४ निजी घर निर्माण सकिएका छन् । ४४ हजार २ सय २० घर निर्माण भइरहेका छन् । १८ हजार ५ सय ७२ परिवारले तेस्रो किस्तासमेत प्राप्त गरिसकेका छन् ।

५६ विद्यालय पुनर्निर्माण सकिएको छ । ११२ विद्यालय भवन निर्माण भइरहेका छन् । निर्माणका लागि तत्कालीन शिक्षा कार्यालयमार्फत १२६ र एसियाली विकास बैंकले २२ विद्यालयलाई सहयोग गरेका छन् । अन्य विभिन्न राजदूतावास तथा गैरसरकारी संस्थाहरूको सहयोगमा ४७ विद्यालय पुनर्निर्माण भइरहेका छन् ।

३१ स्वास्थ्य चौकीको प्रिफ्याब भवन निर्माण सकिएर सेवा सुरु भइसकेको छ । तर, कुनै पनि स्वास्थ्य चौकीमा पक्की भवन भने बनेको छैन ।

रसुवा
११ हजार ६ सय २९ घर पूर्ण रूपमा क्षति भएका थिए । हाकु र डाँडागाउँबाट विस्थापित भएका ५ सय व्यक्ति अझै गाउँ फर्कन सकेका छैनन् । ती गाउँमा भूकम्पपछि ठुल्ठूला पहिरो गएका थिए ।

११ हजार ६ सय ३३ पीडितमध्ये १० हजार ८ सय ९१ सँग मात्रै अनुदान सम्झौता भएको छ । १० हजार ७ सय ४ जनाले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन् भने ८ हजार ४ सय २७ जनाले दोस्रो किस्ता र ३ हजार ८ सय ७२ जनाले तेस्रो किस्तासमेत बुझिसकेको जिल्लास्थित भूकम्पीय आवास पुनर्निर्माण एकाइले जनायो ।

तीन वर्षमा करिब ४६ प्रतिशत निजी घर निर्माण भएका छन् । ११ हजार ६ सय ३३ मध्ये ४ हजार ५ सय ९५ घर निर्माण सकिएको भूकम्पीय आवास पुनर्निर्माण एकाइले जनाएको छ । ९ हजार १ सय ५७ घर निर्माण भइरहेका छन् ।

विस्थापित भएका १५४ घर परिवारले सरकारको २ लाख सहयोगमा जग्गा खरिद गरेका छन् । सुकुम्बासीहरूलाई २ लाख दिने भनिए पनि पाएका छैनन् । क्षतिग्रस्त १९ स्वास्थ्य संस्थामध्ये १६ वटा पुनर्निर्माण भइसकेका छन् । ५६ वटा विद्यालय भवन निर्माण भएका छन् । जग्गा अभावका कारण ३० विद्यालय निर्माण सुरु नै भएको छैन ।

धादिङ
७३ हजार ३ सय ४० जना सरकारी अनुदानका लागि लाभग्राहीको सूचीमा परेकामा १८ हजार ९ सय ४० घरको मात्रै निर्माण सकिएको छ । ६८ हजार ८ सय ४० ले पहिलो किस्ता बुझेका छन् भने ४२ हजार २ सय २३ जना दोस्रो किस्ताको लागि प्रमाणीकरणमा परेका छन् । १३ हजार ४ सय २५ जना तेस्रो किस्ताका लागि पनि सूचीमा परिसकेका छन् ।

जिल्लामा ४ सय ६२ विद्यालयका ३ हजार ७ सय २५ कक्षा कोठामा क्षति पुगेकोमा अहिलेसम्म १ हजार ९ सय ९४ कक्षाकोठाको मात्र निर्माण सकिएको छ । भारतीय राजदूतावासले बनाउने जिम्मा लिएका १० वटा विद्यालयमा पुनर्निर्माण सुरु नै भएको छैन । जाइकाले जिम्मा लिएका ३० वटा विद्यालयमा १८ वटा कक्षाकोठा मात्र बनेका तथा ८ सय ८० कक्षाकोठाको मर्मत भइरहेको छ ।

पूर्ण क्षति भएका ३३, आंशिक क्षति भएका १३ र सामान्य क्षति पुगेका ७ स्वास्थ्य चौकीमध्ये अहिलेसम्म ३५ स्वास्थ्य चौकीको भवन निर्माण भइसकेको छ ।

ओखलढुंगा
२० हजार १ सय ६५ लाभग्राहीमध्ये ४ हजार ५ सयले अनुदानको तेस्रो किस्तासमेत लिएर घर निर्माण सकिसकेका छन् । अहिले कुल लाभग्राहीमध्ये ८४ प्रतिशत अर्थात् १६ हजार १ सय ८५ घर निर्माणको चरणमा छन् । १५ हजार ६ सय ७६ को दोस्रो किस्ता सिफारिस भइसकेको छ । तेस्रो किस्ताका लागि सिफारिसमा परेका ५ हजार ८ सय ७३ मध्ये १ हजार ३७३ ले रकम बुझ्न बाँकी छ ।

सरकारी र गैरसरकारी संस्थाको सहयोगमा १२६ विद्यालय पुनर्निर्माण भइरहेका छन् । विद्यालय व्यवस्थापन समितिमार्फत ९४ भवन र एसियाली विकास बैंकको सहयोगमा १९ वटा विद्यालय निर्माणकै चरणमा छन् । यसैगरी, युनिसेफले १३ विद्यालय निर्माण गरिरहेको छ ।

१० वटा स्वास्थ्य चौकी निर्माण भएका छन् । खानेपानी कार्यालयले भूकम्पले क्षति पुगेका ४४ वटा खानेपानी योजनाको पुनर्निर्माण सकाएको छ ।

रामेछाप
५० हजार निजी घरमा पूर्ण क्षति भएकामा अहिलेसम्म १२ हजार ५ सय मात्रै निर्माण भएका छन् । ३७ हजार घर निर्माणकै चरणमा छन् । ४१९ सामुदायिक विद्यालयमा क्षति पुगेकामा अहिलेसम्म एउटा मात्रै निर्माण सम्पन्न भएको छ । ५२ स्वास्थ्य केन्द्र पूर्ण क्षति भएकामा अहिलेसम्म ३ वटा मात्रै निर्माण सकिएका छन् ।

काभ्रे
भत्किएका ७२ हजार ७ सय ११ घरमध्ये अहिलेसम्म ४ हजार ९९० मात्रै निर्माण सकिएका छन् । ६३ हजारले पहिलो किस्ता लिएका छन् । २० हजारले दोस्रो किस्ता लिएका छन् ।

४१० विद्यालय भत्किएकामा २१० मात्रै पुनर्निर्माण भएका छन् । यस्तै, ४३ स्वास्थ्य संस्थामध्ये १६ भवन निर्माण भइसकेका छन् भने २१ भवन निर्माणाधीन छन् ।

मकवानपुर
३१ हजार ८ सय १७ भूकम्पपीडित रहेको मकवानपुरमा २४ हजार ८ सय ८७ ले मात्रै लाभग्राही सूचीमा सम्झौता गरेका छन् । ४ हजार ५६५ घर निर्माण सम्पन्न भइसकेका छन् । सम्झौता गरेका पीडितमध्ये २३ हजार ६ सय २९ ले पहिलो, १० हजार ७ सय ५ ले दोस्रो र २ हजार ९ सय १२ ले तेस्रो किस्ता पाएका छन् । आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।