पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी


काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभई सबैलाई विपत आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री अधिकारीले विपत पछिको पुनः निर्माण सबैको दायित्व रहेको बताएका हुन् ।

काठमाडौँका सांस्कृतिक सम्पदालाई सम्पदाको रुपमा मात्र नभई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा पनि उनको जोड रहेको थियो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय बासिन्दाको अगुवाई र कामपाको सहयोगमा आगामी जेठ १५ देखि काष्ठमण्ठपको पुनः निर्माण शुरु गर्ने जानकारी दिए ।

पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधानले काठमाडौँको बढ्दो शहरीकरणका कारण पनि विपद्को समयमा बढी जनधनको क्षति व्यहोर्नुपरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको औँल्याए । कार्यक्रममा २०७२ सालको गोरखा भूकम्पमा परी ज्यान गुमाउनको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।