त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा सञ्चालन हुने


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ ।अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बिहीबार पर्यटन मन्त्रालयमा आयोजित सयदिने कार्यक्रम समीक्षामा २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटीसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको बताए ।

हवाई ट्राफिक चापका कारण परेको समस्यालाई न्यूनिकरण गर्न एक महिनाअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सयदिने कार्यक्रममार्फत निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘यसअघि विमानस्थल साढे १८ घण्टाभन्दा बढी नियमित सञ्चालनमा कहिल्यै ल्याइएको थिएन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘भूकम्प, टर्किस र मालिन्दो विमान दुर्घटनाका बेला बाध्यताले निश्चित समयका लागि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो, तर नियमित थिएन ।’

गौतमका अनुसार जहाज अवतरण तथा उडान भर्ने दुइटा मात्रै प्रवेश विन्दु भएको एकमात्र धावनमार्ग भएका कारण सञ्चार तथा उड्डयन उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले चौबिसै घण्टा सञ्चालन गर्न सकिँदैन। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक ४ सय हाराहारी उडानरअवतरण हुन्छन् । सबैभन्दा धेरै गत वर्षको वैशाख ३ गते ४ सय ७४ वटासम्म भएको थियो।

पर्यटकीय सिजन, प्रतिकूल मौसम र विमानस्थलमा देखापर्ने समस्याका कारण खासगरी ठूला विमानले एक घण्टासम्म पनि आकाशमै फन्को लगाउनु ९ (होल्ड गर्नु) पर्ने बाध्यता छ । कतिपय विदेशी विमान अवतरण गर्ने अनुमति नपाउँदा भारतको लखनउ, पटना, दिल्ली र बंगलादेशको ढाकासम्म फर्किन बाध्य भइरहन्छन्।

पर्यटनमन्त्री अधिकारीले २१ घण्टासम्म विमानस्थल सञ्चालनमा ल्याउँदा अहिलेको चाप व्यवस्थापन हुनुका साथै जहाज ‘होल्ड’ गर्नुपर्ने समस्या घट्ने बताएका छन्।

विमानस्थल २१ घण्टासम्म सञ्चालनमा ल्याउँदा गृह मन्त्रालय मातहतका सबै सुरक्षा निकाय, अध्यागमन, अर्थ मन्त्रालय मातहतका भन्सार, कृषि मातहतका क्वारेन्टाइनलगायत सरकारी निकायका कर्मचारी पनि २१ घण्टासम्म खटाइने छन् । हाल विमानस्थलमा निजी र सरकारी गरी करिब ८० निकाय काम गर्छन्।

विमानस्थलमा अत्यधिक उडान चाप हुने समय बिहान १० देखि बेलुकी ५ र राति ८ देखि ११ बजेसम्म हो । अत्यधिक चापका बेला एउटा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले प्रतिघण्टा ४६।६ वटा विमान ‘ह्यान्डल’ गरेको रेकर्ड छ।

प्राधिकरणका अनुसार अहिले काठमाडौंसहित देशभरका करिब ३० वटा ‘एक्टिभ’ विमानस्थलमा २ सय ५० हाराहारी ‘एटीसी’ कार्यरत छन् । यीमध्ये काठमाडौं विमानस्थलका तीन वटा टावरका लागि ६७ जना एटीसी रहेको क्षत्रीले बताए । ‘२१ घण्टा सञ्चालनमा आएपछि हामीलाई ८५ देखि ९० जना एटीसी आवश्यक हुन्छन्,’ उनले भने।