काठमाडाैँ– सेयर बजार नेप्से एकै दिन ३१ अंकले घटेको छ । नेप्से परिसूचक १२ सय ८४ मा आइपुगेको छ । नयाँ वर्षको पहिलो साता लगानीकर्ताका लागि फलदायी बनेको सेयर बजारले दोस्रो साता भने निराश तुल्याएको छ । अघिल्लो साता शतकीय सुधार आएको बजार परिसूचक यस साता भने ३१.०९ अंकले ओरालो लागेको छ ।
पछिल्लो ३ साता बजारमा सुधार आए पनि यस साता त्यसले निरन्तरता पाउन सकेन । साताको पहिलो दिन उल्लासपूर्ण रुपमा ५० दशमलव १८ अंकले बढेको बजारमा त्यसयता निरन्तर ८१ अंकको गिरावट आएको हो । यस साता १३ सय ८८ दशमलव ३१ अंकबाट सुरु भएर नेप्से १३ सय ५७ दशमलव २२ अंकमा रोकियो । यस साता बजार ओरालो लाग्दा अघिल्लो साताभन्दा उच्च कारोबार भयो । पहिलो ३ दिन बजारमा उच्च कारोबार हुँदा पछिल्लो साताभन्दा १४.८६ प्रतिशत बढी रकमको सेयर खरिदबिक्री भए ।
यससाता पहिलो दिन सवा अर्ब रुपैयाँको कारोबार भएको सेयर बजारको दोस्रो दिन डेढ अर्ब रुपैयाँको कारोबार भयो । तेस्रो दिन पनि बजारमा ७५ करोडको सेयर किनबेच हुँदा अन्तिम २ दिन भने उच्च कारोबार भएन । यस साता १८२ कम्पनीका कूल १ करोड १ लाख ८५ हजार कित्ता सेयर ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँमा खरिदविक्री भए । अघिल्लो साता बजारमा ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार रुपैयाँको सेयर खरिदविक्री भएका थिए ।
सोक्रममा १८१ कम्पनीका ८८ लाख ५९ हजार ४१० कित्ता सेयर किनबेच भएका हुन् । पाँचौं दिन कारोबार भएको यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
प्रतिक्रिया