नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाएर छोड्छु :उर्जामन्त्री पुन

नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाएर छोड्छु :उर्जामन्त्री पुन


रसुवा– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाललाई जलबिद्युतमा आत्मनिर्भर बनाँउने घोषणा गरेका छन् । उनले १० बर्षमा कम्तिमा १० हजार मेगावाट बिद्युत उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने दाबी गरे । मन्त्री पुनले जनताको घर घरमा इन्डक्सन चुल्हो बाल्ने गरी बिद्युत उत्पादन हुन लागेको बताएका छन् ।

रसुवामा निर्मार्णाधिन जलबिद्युत आयोजनाको अवलोकन गरेर काठमाडौं फर्कने क्रममा आइतबार बिहान कालिका गाँउपालिकामा गरिएको स्वागत कार्यक्रममा मन्त्री पुनले स्थानीयको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् ।

उनले जनमतबाटै परिमार्जन गर्न सक्ने संविधान आएको बताँउदै अब विकास निमार्णका लागि स्थायित्वको जग खडा भएको उल्लेख गरे । उनले भने–‘नेपाली जनताको चाहना विकास र समृद्धि हो । विकास र समृद्धि बिना कुनै पनि राजनीतिक परिवर्तन संस्थागत हुन सक्दैन ।

सत्तापक्ष र प्रतिपक्ष मिलेर राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि काम गर्नुपर्छ । अहिले हामीप्रति जनअपेक्षा बढी छ । जनअपेक्षा अनुसार काम नभए सरकार खुकुरीको धारमा हुन्छ । सरकार अत्यन्तै गंभिर ढंगले जनअपेक्षा पूरा गर्न प्रतिबद्ध छ ।’

मन्त्री पुनले भूकम्पपछि रसुवा व्यापारिक र पारवाहन केन्द्रका रुपमा स्थापित गराउन लागेको जानकारी गराए । उनले रसुवामा नयाँ सम्भावनाको ढोका खुलेको बताँउदै उत्तरतिरबाट आउने रेलको बाटो, र नेपाल, भारत, चीन जोड्ने त्रिदेशीय प्रसारण लाइन यहीँबाट शूरु हुने बताए ।

रसुवा सबैकोणबाट आकर्षणको केन्द्र बन्दै गरेको बताँउदै मन्त्री पुनले अहिले ट्रान्समिटर लाइनमा समस्या आएको बताए । यो समस्या समाधानका लागि स्थानीयले पनि लाभ पाउने गरी नयाँ मोडेलमा नयाँ नीति शूरु गर्न खोजेका उनको भनाई छ ।

उनले भने–‘प्रभावित क्षेत्रका बासिन्दालाई सबैभन्दा बढी लाभ पाँउने र समग्र नेपाली जनताले पनि लाभ पाँउने नीति निर्माण गर्न खौज्दैछौँ । सबै आयोजनाबाट स्थानीयले लाभ पाँउने कार्ययोजना अगाडि बढाँउन गइरहेका छौँ । ५ सय मेगावाट अहिले नै छ, अरु थप योजना पनि थपेर रसुवाबासीलाई थप शेयर दिएर सम्पन्न बनाँउने हाम्रो योजना छ ।’

मन्त्री पुनले अहिले सबा खर्ब भन्दा बढी इन्धन आयात भइरहेको र त्यसलाई प्रतिस्थापन गरेर ब्यापार घाटा कम गर्ने सरकारको रणनीति रहेको बताए । उनले १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादन गरेर हरेक घर घरमा बिद्युतिय चुलो अभियान अगाडि बढ्ने उल्लेख गरे ।

रसुवाबासीको मागलाई संबोधन गर्दै उनले रसुवामा स्नातकोत्तर तहसम्म अध्यापन हुने क्याम्पस लगायतका अन्य विकास निर्माणको कामका लागि पहल गर्ने उनले बताए ।