भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ : प्रधानमन्त्री ओली

भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ : प्रधानमन्त्री ओली


बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए । उनले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले जनता बलियो भएमा मात्रै लोकतन्त्र बलियो हुने भएकाले सुशासन र स्वच्छतालाई प्राथमिकतामा राखी आर्थिक समृद्धिको दिशामा सरकार अघि बढेको पनि बताए । उनले कुनै पनि नेपाली अब खान नपाएर र चिसोले कठ्याँग्रिएर मरे भन्ने सुन्न नपर्ने बताए ।

उनले जनतालाई सुशासन दिन आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै भने, ‘म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ ।’

प्रधानमन्त्री ओलीले ‘सिण्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता नहुने र कानूनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिनेजस्ता कार्यसँग सम्झौता नगरिनेसमेत स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आकाशको अधिकार लिने र विमानहरु चल्ने बताउँदै आफूले भारत भ्रमणमा जाँदा पनि यो कुरा राखेको बताए । नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउनेसमेत बताए ।