नेपाल आइडल बुद्ध लामाले पाए महिन्द्रा केयुभी वान ओओ कारसँगै २० लाख नगद

नेपाल आइडल बुद्ध लामाले पाए महिन्द्रा केयुभी वान ओओ कारसँगै २० लाख नगद


काठमाडौं– प्रथम नेपाल आइडल बुद्ध लामालाई महिन्द्रा केयुभी वान ओओ कारसँगै २० लाख नगद रुपैयाँ प्रदान गरिएको छ।

 

एपीवानका निर्देशक सुरेश पौडेल लगायतले शुक्रबार लामालाई पुरस्कार प्रदान गरेको नेपाल आइडल आयोजक अन्‍नपूर्ण मिडिया नेटवर्क (एएमएन) अन्तर्गतको अन्नपूर्ण पोष्टले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ।

 

 

बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको समाचारमा जनाइएको छ।

 

 

त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद १० लाख प्रदान गरिएको छ।

 

 

गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका थिए।

 

 

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो।

 

 

जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए।

 

तस्बिर : अन्नपूर्ण पाेष्टकाे अनलाइन संस्करणबाट साभार