कमानसिंहकी कान्छी श्रीमतीले भनिनः नारायणकाजीको राजनीतिक जीवन बदनाम पार्न खोजियो

कमानसिंहकी कान्छी श्रीमतीले भनिनः नारायणकाजीको राजनीतिक जीवन बदनाम पार्न खोजियो


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाकी श्रीमती ईन्द्रमाया तामाङले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फसाउने नियतले भ्रामक समाचार आएको बताएकी छन् । कमानसिंह र इन्द्रमायासँगको सेयर कारोबारको विषयलाई जोडेर अडियो/भिडियो प्रकरण बाहिरिएपछि प्रवक्ता श्रेष्ठ विवादमा तानिएका छन् ।

उनले आफू र श्रीमानको विषय जोडेर अनावश्यक रुपमा प्रवक्ता श्रेष्ठलाई मुछेर मिडियामा झुटो प्रचार गरेको भन्दै आपत्ति जनाएकी छन् । उनले प्रवक्ता श्रेष्ठ आफूहरुको राजनीतिक अभिभावक भएको बताउँदै आफूहरुको समस्या समाधानका लागि सकारात्मक भूमिका निर्वाह गरेको उल्लेख गरेकी छन् ।

‘हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड श्रष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौं । त्यसक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शिता र अनुशासनको बारेमा सम्झाउनु भएको हो । तर, त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही व्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भत्र्सना गर्दछु । उहाँ हाम्रा यो आर्थिक विषयमा न हिजो संलग्न हुनुहुन्थ्यो न आज संलग्न हुनुहुन्छ’, उनले विज्ञप्तिमा भनेकी छन् ।

इन्द्रमायाले श्रीमान कमानसिंहसँग हाइड्रोको सेयरका विषयमा विवाद भएको खुलाएकी छन् । उनले श्रीमानको भन्दा आफ्नो सेयर बढी भएकाले उनले यातना दिने गरेको खुलाएकी छन् । इन्द्रमाया कमानसिंहकी कान्छी श्रीमती हुन् । मृत्यु अघि कमानसिंहले कान्छी श्रीमतीले आफूलाई धोका दिएको र आफ्नो किरिया नगर्न पनि फेसबुकमार्फत भनेका थिए ।

‘मेरा श्रीमानले पटकपटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने कामसमेत गर्नुभयो । बिरामी अवस्थामा मानसिक यातना दिने काम रोकिएन । तर, पनि मबाट उहाँप्रति मेरा दायित्व पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन्’, उनले भनेकी छन् ।

उनले आफूलाई जति पीडा कसलाई हुन सक्छ ? भन्दै प्रश्न गरेकी छन् । तामाङले श्रीमानलाई बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै पीडाको घडीमा केही तत्वहरुले आफ्नो परिवार र राजनीतिक नेतृत्वसँग खेलावाडको विषय बनाएको बताएकी छन् ।