पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफू कोरोनाबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।

पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराएका हुन् । आजै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए ।

कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बसेका छन् ।

उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । उनीहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित भएका हुन् ।