आर्मी बन्यो एएफसी क्लब लाइसेन्स पाउने नेपालको पहिलो क्लब

आर्मी बन्यो एएफसी क्लब लाइसेन्स पाउने नेपालको पहिलो क्लब


काठमाण्डु – त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएको छ । एन्फाको क्लब लाइसेन्स इजाजतका लागि अपिल गर्ने निकायको मंगलबार बसेको बैठकले आर्मी फुटबल क्लबलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

आर्मी क्लबले यस अघिको निर्णय उपर पुनर्विचार गरी पाउँ भनी एन्फा सचिवालयमा अपिल दर्ता गराएको थियो । सो छलफलमा त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको मापदण्डअनुसार सबै योग्यता पुरा गरेको पाइएकाले लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

सो लाइसेन्स प्राप्त गरे पश्चात आर्मी फुटबल क्लबले एएफसी कप क्लब अन्तर्गत संचालन हुने व्यवसायिक फुटबल प्रतियोगिताहरुमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

यस ऐतिहासिक उपलब्धिको अवसरमा नेपाली सेना र त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा लगायत सम्बद्ध सबैमा आभार व्यक्त गर्नुका साथै यसबाट नेपालमा फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरेको छ ।