वाम गठबन्धनलाई जिताउन युवा तथा विद्यार्थीको संयुक्त चुनावी अभियान

वाम गठबन्धनलाई जिताउन युवा तथा विद्यार्थीको संयुक्त चुनावी अभियान


काठमाडौं– पार्टी एकताको घोषणासहित निर्वाचनमा गठबन्धन गरेका नेकपा (एमाले) र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी संगठनले आगामी निर्वाचन सफल बनाउन केन्द्रीकृत रुपमा अभियान सञ्चालन गर्ने भएका छन्।

 

 

संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा रहेको आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन सफल बनाउन उनीहरुले त्यसखालको पहल गर्न लागेका हुन्।

 

 

 

निर्वाचनलाई सफल बनाउने लक्ष्यका साथ केन्द्रमा तीनहजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको एमाले निकटको युवा संघ र माओवादी केन्द्र निकटको वाइसिएलले प्रदेश तथा जिल्ला तहमा समेत सोही अवधारणामा निर्वाचन सफल बनाउन अभियान चलाउन लागेका हुन्।

 

 

युवा संघका इन्चार्ज महेन्द्र पाण्डे र वाइसिएलका इन्चार्ज मणि थापाको उपस्थितीमा शुक्रबार बसेको दुवै युवा संगठनको संयुक्त बैठकले एकीकृत निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

 

 

 

युवा संघका अध्यक्ष राजीव पहारीले राष्ट्रिय आवश्यकता र आर्थिक समृद्धिको लक्ष्यसहित निर्माण भएको वाम गठबन्धनको उम्मेदवारलाई विजयी गराउन युवाको तर्फबाट महत्वपूर्ण कार्यभार पूरा गर्ने लक्ष्यका साथ संयुक्त अभियान सुरु भएको जानकारी दिए।

 

 

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘एक बुथ, सय युथ’ भन्ने नाराका साथ निर्वाचन अभियानमा केन्द्रित भएको बताउछन्। संविधान कार्यान्वयनको महत्वपूर्ण पाटोका रुपमा रहेको निर्वाचनलाई सफल बनाउन युवाको महत्वपूर्ण भूमिका रहन्छ र राष्ट्रिय कार्यभार पूरा गर्ने दायित्व युवाकै रहेको उनको भनाइ छ।

 

 

निर्वाचनको माहोल बनाउने, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण निर्वाचनका लागि सुरक्षा निकायलाई सहयोग गर्ने, मतदातालाई निर्वाचनको आधारभूत विषयमा जानकारी दिने, मतदाता शिक्षा सञ्चालन गर्नेदेखि निर्वाचन आयोगलाई सहजीकरण गर्न आफूहरुले योजनाबद्ध तवरले पहल सुरु गरेको वाइसिएल अध्यक्ष सापकोटाको भनाइ छ।

 

 

युवा संघका अध्यक्ष पहारी राष्ट्रिय आवश्यकता र चाहनाले नै वाम गठबन्धन निर्माण भएकाले त्यसको आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्दै निर्वाचनको माहोल बनाउन आफूहरु संयुक्तरुपमा परिचालित हुने बताउछन्।

 

 

त्यसो त दुवै पार्टीका विद्यार्थी संगठनले समेत निर्वाचनलाई सफल बनाउन अभियान नै सञ्चालन गर्ने बताएका छन्। अनेरास्ववियू र अखिल (क्रान्तिकारी) ले पनि संयुक्तरुपमा निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्।

 

 

 

वाम एकता र निर्वाचन तालमेललाई सकारात्मक रुपमा लिँदै अनेरास्ववियू र अखिल ९क्रान्तिकारी०को केन्द्रीय नेतृत्वले संयुक्तरुपमा नै देशव्यापी रुपमा निर्वाचनको माहोल बनाउन लागिपरेको जनाएका छन्।

 

 

अनेरास्ववियूका अध्यक्ष नविना लामा युवा विद्यार्थीको चाहना आर्थिक समृद्धि, रोजगारीको अवसर तथा शिक्षा र स्वास्थ्यको अवस्थामा सुधारलगायत भएकाले त्यसकै परिपूर्तिका लागि यसपटकको निर्वाचन महत्वपूर्ण भएको बताउसछन्।

 

 

सम्बद्ध पक्षकाअनुसार अनेरास्ववियूका अध्यक्ष लामा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बन्नुहुने चितवन क्षेत्र नं ३ को निर्वाचन अभियानमा सहभागी हुने र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्न लागेको झापा क्षेत्र नं २ मा प्रचार अभियानमा सहभागी हुने निर्णय गरिएको छ।

 

 

क्रान्तिकारीका अध्यक्ष तामाङले स्थानीयस्तरमा मैत्री सम्बन्ध विस्तार गर्न र वाम गठबन्धनको ध्येय पूरा गर्न दुवै संगठनका अध्यक्ष फरकफरक स्थानमा चुनावी प्रचार अभियानमा सहभागी हुने निर्णय भएको बताए।

 

 

यस्तै, एमालेका नेता उम्मेदवार भएका स्थानमा माओवादी केन्द्रका नेताले प्रचार गर्ने र माओवादी केन्द्रका उम्मेदवार रहेका स्थानमा एमाले नेताले प्रचारप्रसार गर्ने नीतिगत निर्णय समेत गरिएको छ। त्यसले कार्यकर्ता तहमा मैत्री सम्बन्ध निर्माणमा सहयोग पुग्ने दुवै पार्टीका नेताको बुझाइ छ।

 

 

 

यसैगरी, अन्य जनवर्गीय संगठनका पनि संयुक्त बैठक भेला तथा कार्यक्रमहरु अगाडि बढिरहेका छन्। जिल्ला सम्पर्क समितिको संयुक्त बैठक एवं भेलालाई समेत निर्वाचन केन्द्रित बनाइएको छ।

 

 

एमाले र माओवादी केन्द्रका अध्यक्षले नै दुवै पार्टीको केन्द्रीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल निर्वाचनलाई बढी भन्दा बढी सफल बनाउन र वाम गठबन्धनको पक्षमा माहोल बनाउन संयुक्त प्रयास गरेको बताउछन्।

 

 

यही कात्तिक १९ गतेदेखि २६ गतेसम्म पाँचथरदेखि दार्चुलासम्म संयुक्त चुनावी अभियान सञ्चालन गर्ने घोषणा गरेको गठबन्धनले निर्वाचन नै लोकतन्त्रको आधारस्तम्भ भएकाले यसलाई सफल पार्न सबैको साथ सहयोग जरुरी रहेको उल्लेख गरेको छ।

 

 

 

एमाले नेता सोमप्रसाद पाण्डे निर्वाचन नै लोकतन्त्रको आधारभूत पक्ष भएकाले सबैले त्यसलाई सफल बनाउनेतर्फ लाग्नुपर्ने बताउछन्। अस्थिर राजनीतिक अवस्थाको अन्त्यका लागि देशव्यापी रुपमा संयुक्त निर्वाचन अभियान सुरु गरिएको उहाँको भनाइ छ। रासस