दर्शकसहित नेपालले विश्वकप छनोटका बाँकी तीन खेल दशरथ रंगशालामा खेल्ने

दर्शकसहित नेपालले विश्वकप छनोटका बाँकी तीन खेल दशरथ रंगशालामा खेल्ने


काठमाण्डु – नेपालले विश्वकप फुटबलको छनोट चरणको बाँकी तीन खेल घरेलु मैदानमा खेल्ने भएको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा काठमाण्डुस्थित दशरथ रंगशालामा खेल्ने भएको हो ।

नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्नेछ । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । गत मार्च–अप्रिलका लागि तय भएका खेलहरू कोरोना भाइरसका कारण स्थगित भएका थिए ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।

समूह ‘बी’मा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । ती तीनै खेलमा दर्शकलाई प्रवेश दिने एन्फाले जनाएको छ ।

मंगलबार भएको एन्फाको बार्षिक साधारणसभाले बार्षिक कार्यक्रम पास गर्ने क्रममा विश्वकप छनोटका खेलहरु नेपालमा गर्ने र ती खेलमा दर्शकलाई टिकट बिक्रि गरेर रकम उठाउने उल्लेख छ ।

एन्फा प्रवक्ता किरण राईले साधारणसभा पछिको पत्रकारसम्मेलनमा नेपालमा हुने विश्वकप छनोटका खेलहरुमा दर्शकलाई प्रवेश दिइने बताए ।

एन्फाको मंगलबार भएको साधारणसभाले २०७७ मा १० वटा कार्यक्रम र २०७८ मा २४ कार्यक्रम गर्ने प्रस्ताव पारित गरेको छ ।