कति नजिकिए पुर्व युवराज पारस–हिमानी ?

कति नजिकिए पुर्व युवराज पारस–हिमानी ?


काठमाडौं – यसै साता लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा शाही परिवारको डिनर थियो । डिनरको आकर्षण शाही परिवार भन्दा पनि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको प्रवेश सँगै हुनु बन्यो । खासगरी दुवैबीचको सम्बन्ध सुमधुर नरहेको बताइएका बेला यो जोडी आकर्षक बनेको थियो । सँगै छिरे पनि डिनर अवधिभर बोलचाल पनि नगरी, सँगै पनि नबसी फर्केका दम्पत्तीको सम्बन्ध किन अझै चिसो छ ? स्रोतहरू भन्छन्, ‘माताको कमाल हो ।’

धार्मिक मान्यता राख्ने हिमानीलाई सबिता भन्ने माताले श्रीमान्सँग सम्बन्ध नराख्नू, नबोल्नु भनेकी छन् । हिमानी उनै माताको भनाईमा अडिग रहेको कतिपयले बताएका छन् । यो दम्पत्तीमा देखिएको विभाजनको प्रमुख कारण माता भने होइनन् । पारसको परस्त्री सम्बन्ध र हिमानीको इगोले पनि काम गरेको दरबार नजिक हुनेहरू बताउँछन् ।

त्यसो त लामो समय विदेशी प्रेमिकासँग थाइल्यान्डमा बसी जेल समेत परेका पारसको रिहाइका लागि हिमानीले कम सकस उठाएकी छैनन् । त्यसै बेलादेखि बाबु ज्ञानेन्द्र शाहसँग पारसको सम्बन्ध विग्रिएको थियो । उनलाई निर्मलनिवास प्रवेशमा रोक थियो । तर, अहिले त्यस्तो छैन । ज्ञानेन्द्रले पारसलाई सकारात्मक लिन थालेका छन् । उनको बानीमा आउन थालेको सुधार र लामो समयदेखि काठमाडौंमा नै रहेका कारण परिवारसँग नजिक हुन थालेका छन् ।

पारस सुध्रिन थालेपछि बाबु ज्ञानेन्द्रले उनलाई चेपेका हुन् । त्रिसरामा डिनरका लागि परिवार सँगै पुग्यो । आमा कोमलसँग पनि पारसले राम्रो भलाकुसारी गरे । तर पत्नी हिमानीसँग उनको हिमचिम हुन सकेन । बाबुआमाबीच बसेर तस्बिर लिएका पारससहितको फ्रेममा हिमानी आउन चाहिनन् । अलिक पर बसिन्, सासुससुरासँग गफिइन् र फर्किन् ।

कतिपय समयमा हिमानी र पारसको सम्बन्ध सुधार भएको चर्चा पनि गरिए । हिमानी ट्रस्टको कार्यक्रममा पारसको सहभागीताका आधारमा यस्तो चर्चा गरियो । बैंककबाट फर्किनासाथ केही समय अलग्गै बस्दै आएका पूर्वयुवराज पारस सोल्टी होटलमा आयोजना गरिएको सो कार्यक्रममा पुगेका थिए । त्यसपछि सम्बन्ध सुधार भएको चर्चा भयो ।

पारसकी फुपु शोभा शाहीका छोरा हिमवानको विवाहमा एउटै फ्रेममा पारस–हिमानी देखिए पछि सम्बन्ध सुधारको चर्चा भएको थियो । त्यसबेला विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका हुन् ।

२०७१ को १९ चैतमा पूर्व युवराज पारस नेपाल फर्किए पनि उनको हिमानीसँगको सम्बन्ध राम्रो अझै राम्रो बन्न सकेको छैन । पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिरमा पनि देखिएका छैनन् । थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार चढाव देखा परेको थियो ।