राष्ट्रिय महिला फुटबल : रश्मीको ह्याट्रिकमा त्रिभुवन आर्मी क्लब विजयी

राष्ट्रिय महिला फुटबल : रश्मीको ह्याट्रिकमा त्रिभुवन आर्मी क्लब विजयी


काठमाण्डु – रश्मी घिसिङको ह्याट्रिक मद्दतमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको पहिलो खेलमा विजयी भएको छ ।

आर्मी क्लबले आज भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० गोल अन्तरले पराजित गरेको हो । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उक्त खेलमा घिसिङले चार गोल गरे ।  आर्मीका लागि शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अञ्जली वाइवाले एक एक गोल गरिन् । चौदण्डीगढीले आर्मीका लागि एउटा आत्मघाती गोल गरेको थियो ।

मध्यान्तरअघिको खेलमा आर्मीले तीन तथा मध्यान्तरपछिको खेलमा ६ गोल गरेको हो । आर्मीका लागि घिसिङले खेलको १९औँ, ५२औँ, ६०औँ र ६३औँ मिनेटमा गोल गरेकी थिइन् । यस्तै थापाले खेलको २३औँ तथा ४०औँ मिनेटमा गोल गरेकी थिइन भने राईले खेलको ७८औँ र वाइवाले ८८औँ मिनेटमा गोल गरेकी हुन् । अन्तिम समयमा चौदण्डीगढीका एमित लेप्चाले आत्मघाती गोल गरेकी थिइन् ।

चौदण्डीगढीले चार भारतीय खेलाडीलाई लिगका लागि भित्र्याए पनि स्तरीय खेल प्रदर्शन भने गर्न सकेन । जितसँगै आर्मी सात खेलबाट १६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

चौदण्डीगढी लगातार सातौं खेलमा पराजित हुँदै अङ्कविहीन अवस्थामा रहेर लिगको पुछारमा छ । एपीएफ क्लब लिगको शीर्ष स्थानमा छ । विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौंथो, वालिङ नगरपालिका ८ अङ्कका साथ पाँचौ तथा चन्द्रपुर नगरपालिका तीन अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।