बेलायती राजदूतलाई वनमन्त्री बस्नेतले भने ‘विश्वव्यापी दायित्व बहन गर्न तयार छौं’

बेलायती राजदूतलाई वनमन्त्री बस्नेतले भने ‘विश्वव्यापी दायित्व बहन गर्न तयार छौं’


काठमाडौं- नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेटघाट गरेका छन् सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापित भएको दुई सय वर्ष पूरा भएको चर्चा गर्दै नेपालको विकासमा बेलायतले पु¥याएको योगदानका लागि धन्यवाद दिए ।

राजदूत मरिसको एक जिज्ञाशाको जवाफमा मन्त्री बस्नेतले नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व बहन गर्न आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पारे ।

‘विश्व समुदायको एक हिस्साको हैसियतमा वातावरणीय प्रदूषण नियन्त्रण र त्यसबाट पर्ने प्रभाव कम गर्नका लागि आफूले खेल्नुपर्ने भूमिकाका बारेमा नेपाल स्पष्ट छ’, उनले भने, ‘वातावरणका क्षेत्रमा हाम्रो घरेलु दायित्व निर्वाह गर्दै विश्वव्यापी दायित्व पूरा गर्नका लागि आवश्यक नीति निर्माणको तयारीमा हामी छौं ।’

यस्तै राजदूत मरिसले बेलायतले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा आर्थिक लगायत सहयोग गर्दै आएको र आगामी दिनमा समेत उक्त कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नेपालको वन तथा वातावरण संरक्षणका क्षेत्रमा यस अघि गर्दै आएको सहयोगलाई बेलायतले यस वर्ष पनि जारी राख्ने जानकारी दिँदै राजदूत मरिसले खास गरी वन्यजन्तु तस्करी नियन्त्रणका लागि काम गर्ने चाहना आफ्नो सरकारको रहेको अवगत गराए । राजदूत मरिसले मन्त्री बस्नेतलाई बेलायत भ्रमणको निम्तो समेत दिए ।