राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी


काठमाण्डु – राष्ट्रिय महिला लिग फूटबलको दोस्रो चरणअन्तर्गत सोमवार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफका लागि रविना गोलेले एउटा गोल गरेकी थिइन् । पुलिस क्लबले एपीएफका लागि एउटा आत्मघाती गोल गरेको थियो । पुलिस क्लबका लागि भने १ मात्र गोल अमृता जैशीले गरेकी थिइन् ।

मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछिको खेलको ६९ औं मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गरेकी थिइन् । खेलको ७५ औं मिनेटमा पुलिसका लागि जैशीले गोल गरिन् । खेलको ८६ औँ मिनेटमा एपीएफका लागि गोलेले गोल गरिन् ।

जीतसँगै लिगमा एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ उपाधि नजिक पुगेको छ । एपीएफले हालसम्म १० खेलमा ३० अंक जोडेको छ भने पुलिसले १० खेलमा १४ अंक जोडेको छ । पुलिस लिगको चौथो स्थानमा छ ।

एन्फा मैदानमा भएको दोस्रो खेलमा विराटनगरले वालिङलाई हरायो । विराटनगरका लागि विदेशी खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । उनले खेलको ३५ औं मिनेटमा फ्रिकिकमा गोल गरेकी हुन् ।

मध्यान्तरपछिको खेलमा भने विराटनगरले वालिङ विरुद्धको खेलमा दबाबमा खेलेको थियो । उसले गोल गर्न सकेन । जीतपछि विराटनगर १६ अंकका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।