काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका छन्। टुँडिखेलमा गार्ड अफ अनरको सम्मान ग्रहणपछि बहादुर भवन पुगेर उनले उपराष्ट्रपतिलाई भेटेका हुन्।
उपराष्ट्रपतिसँगको भेटपछि उनी राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। त्यहाँबाट उनी द्वारिकाज होटलमा जाने कार्यक्रम छ। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको औपचारिक भेटवार्ता हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुने भएको छ।
बालुवाटार स्रोतका अनुसार साँझ सवा ७ बजेपछि होटलमा दुई प्रधानमन्त्रीबीच भेट हुनेछ। दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुनेछ।
सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन्। होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोटमार्फत् गर्नेछन्।
प्रतिक्रिया