काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले पशुपतिनाथ मन्दिरमा विशेष पूजापाठ गरेका छन् । मुक्तिनाथ बाट फर्किए लगतै पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि त्यहाँ पुगेका थिए ।
मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारी लगायतले स्वागत गरे ।विशेष पूजा गर्ने क्रममा मोदीले पशुपतिनाथमा ४८ मिनेट बिताएका थिए । विशेष पूजापछि मोदी बसिरहेको होटल ह्यायात तर्फ लागेका छन् ।
मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि पाँच करोड सहयोग घोषणा गरेका थिए । तर, त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको छ । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।
प्रतिक्रिया