नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फर्किए भारतीय प्रधानमन्त्री मोदी

नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फर्किए भारतीय प्रधानमन्त्री मोदी


काठमाडौँ-  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन्  । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गरेका थिए ।

प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडाैँ अाएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए । काठमाडाैँमा  रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उनले दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भएका थिए ।

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडाैँमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुगेका थिए ।